देउवामाथि देश छाड्न लागेको भनेर गरिएका प्रचारबाजी अपराधिक चिन्तनको उपज हो : प्रवक्ता महत

देउवामाथि देश छाड्न लागेको भनेर गरिएका प्रचारबाजी अपराधिक चिन्तनको उपज हो : प्रवक्ता महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो हत्या गर्न आउँदैछन् भन्दापनि घर छाडेर नहिँड्ने शेरबहादुर देउवामाथि गरिएका प्रचारबाजी अपराधिक चिन्तन भएको बताएका छन् ।

आइतबार पत्रकार भेटघाटमा प्रवक्ता महतले आफ्नो हत्या गर्न आउँदैछन् भन्दापनि घर छाडेर नहिँड्ने शेरबहादुर देउवामाथि देश छाड्न लागेको भनेर गरिएका प्रचारबाजी अपराधिक चिन्तनको उपज रहेको बताएका हुन् ।

प्रवक्ता महतले पासपोर्ट बनाउने हरेक नागरिकको अधिकार भएको भन्दै देउवा देश छाडेर जाने कुरा बदनाम गराउने योजनाबद्ध प्रयासमात्र हो भनेका छन् । महतले जीवनमरणको लडाइँ लडिरहेका नेताविरुद्ध भएका प्रचारबाजीको निन्दा गर्नुपर्ने समेत बताए ।

प्रवक्ता महतले कांग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत वर्तमान परिस्थितिको समाधान खोज्न लाग्नुपर्ने बताए । उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षर संकलनले कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको बताउँदै यसमा केन्द्रीय समितिबाटै निचोड निस्किने बताए।

अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ ।

‘हामी देश र जनतालाई माथि राखेर फेरि उठ्न सक्छौं । कांग्रेस फेरि माथि उठ्छ,’ उनले भने, ‘लोकतन्त्रलाई कमजोर पार्न खोज्ने र देशलाई अस्थिर बनाउन चाहने शक्ति सफल हुने छैनन् । हामी एकीकृत भएर लोकतन्त्रको रक्षा र देशको मजबुतीका लागि अगाडि सर्छौं ।’

उनले पछिल्लो समय राजनीतिक दलहरु विरुद्ध षड्यन्त्रपूर्वक आत्मविश्वास घटाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेस त्यो षडयन्त्रको शिकार बन्न नदिने बताए ।

‘हाम्रो आत्मविश्वासलाई थाङथिलो पार्ने योजना अन्तर्गत सबै षड्यन्त्र गरिएको हो,’महतले भने, ‘तर कांग्रेस पार्टी सधैं लोकतन्त्र, जनता र राष्ट्रको पक्षमा दृढताका साथ उभिएको छ ।’ पार्टी कार्यालय र नेताहरुका घरमा भएको तोडफोड र आगजनीप्रति टिप्पणी गर्दै महतले त्यस्ता घटना कांग्रेसको आत्मबल तोड्न नसक्ने जिकिर गरे । ‘हामी पुनः जागरुक भएर उठ्नेछौं,’ उनले दृढताका साथ भने ।