काठमाण्डु – नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफूले लेखेको भूमिकाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार थरथरी कामिरहेको टिप्पणी गरेका छन् ।
सोमबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले एमाले अध्यक्षको बासस्थान व्यवस्थापन, सार्वजनिक वक्तव्य, भेटघाट कार्यक्रम र सचिवालय बैठकको आयोजनामा मैले खेलेको भूमिकाप्रति सरकार थरथरी कामिरहेको आरोप लगाएका छन् ।
‘कसैले ‘ह्यारेसमेन्ट’ गरेर मलाई मेरो दायित्वबाट पन्छ्याउन सक्दैन । चेतना भया,’ उनले लेखेका छन् ।
सामाजिक सञ्जालमा लेखिएको छ, ‘वर्तमान जेनजी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल चलाइरहेको देखिन्छ । कृपया यस्तो कुकर्म नगरेको राम्रो । राष्ट्रियता, लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोजिरहेका दानवीय प्रवृत्तिहरूको विरुद्ध मैले आवाज उठाएको कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुनसक्छ । तर यति मात्र भन्न चाहन्छु, मैले देश र राष्ट्रियताको पक्षमा सत्य बोलेको छु र मेरो ज्यानको अन्तिम सास रहुञ्जेल पनि त्यसै पक्षमा बोलिरहनेछु ।’
छोटो समयका लागि जेनजी आन्दोलनको नाममा बनेको वर्तमान सरकारले यदि अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाउँछ भने त्यसको सामना गर्न नेपाली युवा सधैं तयार रहेका उनले बताए ।




प्रतिक्रिया