बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्छौं : यातायातमन्त्री घिसिङ

बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्छौं : यातायातमन्त्री घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भौतिक पूर्वाधार एवं यातायातमन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्।

स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका हुन्।

चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्।

देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौकाका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न मन्त्री घिसिङले सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका घिसिङले सर्वसाधारणलाई सुझाव दिएका छन्।