काठमाण्डु – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रशासकीय अधिकृत सुजन कुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अरु घाइतेहरूलाई परिचयपत्र वितरण गरेका हुन् ।
दिपेन्द्रको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरूले घाइते परिचयपत्र पाएका हुन् ।
जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी दिपेन्द्र बस्नेत ढलेका थिए । दैलेख घर भएका दिपेन्द्र बस्नेतको हाल उनको उपचार जारी छ र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
रोजगारीको सिलसिलामा काठमाण्डुमा रहेका दैलेखको भगवतीमाई गाउँपालिका–१ का २८ वर्षीय बस्नेतको टाउकोमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया