काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज विरुद्धको ऐतिहासिक टी२०आई सिरिज अवधिभरका लागि क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
यूएईको सारजाह क्रिकेट मैदानमा सेप्टेम्बर २७–३० सम्म पहिलोपटक आयोजना गरिएको नेपाल र वेस्टइन्डिज बीचको टी२०आई सिरिजमा सहभागी हुन तोकिएका लामिछानेले सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेटअघि आफैं खेल नखेल्ने निर्णय गरेको क्यानले जनाएको छ ।
क्यानका अनुसार लामिछानेको एकपक्षीय निर्णयले टोली व्यवस्थापन, खेलाडी र समग्र नेपाली क्रिकेटमा नै गम्भीर असर परेको थियो । यसका कारण टोली व्यवस्थापनको सिफारिसमा उनलाई सिरिजको पहिलो खेलपछि बाँकी २ खेल र सम्पूर्ण सिरिजका लागि निलम्बन गरिएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको निर्णयले टीम म्यानेजमेन्ट र खेलाडीमाझ असहज परिस्थिति सिर्जना भएकोले उनलाई बाँकी खेलहरूमा सहभागी नगराउने निर्णय गरिएको हो ।’
यसैबीच नेपाली राष्ट्रिय टोली अब अक्टोबर ८–१७ सम्म ओमानमा हुने आईसीसी मेनस् टी२० विश्वकप एसिया/ईएपी फाइनल प्रतियोगितामा सहभागी हुने तयारीमा लागेको छ । प्रतियोगिताबाटै आगामी टी२० विश्वकप क्रिकेटमा छनोट हुने भएकाले नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण अवसर भएको क्यानले जनाएको छ ।
१६ सदस्यीय नेपाली टोली तथा अफिसियलहरू बुधबारै यूएईबाट ओमान प्रस्थान गरिसकेको क्यानले जनाएको छ । विज्ञप्तिमा क्रिकेटप्रेमी तथा सरोकारवालाहरूलाई राष्ट्रिय टोलीप्रति निरन्तर समर्थन र हौसला प्रदान गर्न आग्रह समेत गरिएको छ ।





प्रतिक्रिया