काठमाण्डु महानगरमा डेंगी संक्रमण कायमै, लामखुट्टे नियन्त्रण अभियान तीव्र

काठमाण्डु महानगरमा डेंगी संक्रमण कायमै, लामखुट्टे नियन्त्रण अभियान तीव्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले लामखुट्टेको टोकाइबाट फैलिने डेंगी रोग अझै नियन्त्रणमा नआएको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महानगरले लामखुट्टे र यसको लार्भा नष्ट गर्ने अभियानलाई वडास्तरमै तीव्र बनाएको छ ।

स्थानीय स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र समुदायकै सक्रिय सहभागितामा जमेको पानी खोजी लार्भा नष्ट गर्ने कार्य भइरहेको महानगरपालिकाको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार गत वर्षहरूको अनुभव हेर्दा भदौ, असोज र कात्तिक महिनामा डेंगीको संक्रमण दर बढ्ने भएकाले यस वर्ष मृत्यु दर घटाउने र संक्रमण नियन्त्रणमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ ।

महानगरमा पहिलोपटक २०७५ सालमा चमती क्षेत्रमा डेंगी संक्रमण देखिएको थियो । त्यसयता संक्रमणको ग्राफ घटबढ भइरहे पनि समस्या कायमै छ । सन् २०२२ मा २ हजार ९७३ जनामा, सन् २०२३ मा ६४३ जनामा, सन् २०२४ मा २ हजार ८४ जनामा र चालू वर्ष पुसदेखि हालसम्म २४८ जनामा संक्रमण पुष्टि भएको महानगरले जनाएको छ ।

एडिस जातका लामखुट्टे सफा तर स्थिर पानीमा प्रजनन गर्ने भएकाले सडक, पेटीका खाल्टाखुल्टी, करेसाबारीका गमला, पुराना टायर, कौसी र घरआँगनमा राखिएका भाँडामा पानी जम्न नदिन महानगरले आग्रह गरेको छ ।

यससँगै स्वास्थ्यसम्बन्धी जिज्ञासा वा गुनासा राख्न र प्रारम्भिक परामर्श पाउन ११८० नम्बर टोल–फ्री फोनमार्फत सेवा सुरु गरिएको छ ।

महानगरले डेंगी नियन्त्रणमा सरसफाइलाई प्रमुख हतियार ठहर गर्दै, प्रत्येक नागरिकले घरआँगन सफा राखी लामखुट्टेको सम्भावित बासस्थान नष्ट गर्नुपर्नेमा जोड दिएको छ ।