काठमाण्डु – गण्डकी प्रदेश सहितका क्षेत्रमा भारी वर्षाको सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणलाई ४ दिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि सोमबारसम्म मध्यमदेखि भारी वर्षा हुने चेतावनी दिँदै बाढी, पहिरा, डुबान र हिमपातको जोखिमबारे सचेत गराएपछि प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार नागरिकको जनधनको सुरक्षा प्राथमिकता भएकाले अत्यावश्यक कामबाहेक लामो दूरी वा रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको छ । नदीखोला आसपासमा रहँदा विशेष सावधानी अपनाउन र राजमार्ग तथा ग्रामीण सडकमा संयमपूर्वक सवारी सञ्चालन गर्न प्रशासनले यातायात व्यवसायी र चालकलाई समेत सचेत गराएको छ ।
जोखिमयुक्त क्षेत्रमा सवारी आवागमनलाई व्यवस्थापन गर्न बिरेठाँटी–घान्द्रुक, उल्लेरी, लुम्ले–लान्द्रुक र काहुँखोला–ताङतिङ–सिक्लेस मार्गमा दिउँसो ४ बजेपछि गाडी छुट्न नपाउने, फर्किने सवारी भने बिहान ५ बजेपछि मात्र सञ्चालन हुने व्यवस्था गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले अन्नपूर्ण, मर्दी हिमाल तर्फको पदयात्रा नगर्न पर्यटक र पदयात्रीलाई समेत आग्रह गरिएको छ । कुनै विपद् उत्पन्न भएमा स्थानीय तह, जनप्रतिनिधि, प्रहरी वा प्रशासनसँग तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै स्थानीय तह, रेडक्रस, साझेदार संस्था, निजी क्षेत्र र नागरिक समाजलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । पोखरा–जोड्ने राजमार्ग र अन्य जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई प्रशासनले निर्देशन दिएको छ ।




प्रतिक्रिया