काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीसँग आफूलाई जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उज्यालो नेपाल पार्टीसँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
मन्त्री घिसिङले फेसबूकमा लेखेका छन्, ‘उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्जाल एवम् सञ्चारमाध्यममा मलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त पार्टीमा मेरो आवद्धता वा जूम बैठकमा सहभागिताबारे कुनै छलफल भएको छैन ।’
उनले आफूलाई कुनै छलफल वा सल्लाह नगरी दुषित मनसायका साथ असत्य सामग्री प्रचार गरिएको भन्दै यसको खण्डन गरेका छन् । उनले त्यस्ता भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
मन्त्री घिसिङले सम्बन्धित पक्षलाई आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न आग्रह पनि गरेका छन् ।
मन्त्री घिसिङले लेखेका छन् –
उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिंदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु । मसँग कुनै छलफल/सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु ।




प्रतिक्रिया