काठमाण्डु – गृह एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्दै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद् सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवं विपद् उद्दार सामाग्री भण्डार, प्रहरी विपद् प्रतिकार्य टीमको अवलोकन गर्नुका साथै गतिविधिबारे जानकारी लिए ।
निरीक्षणपश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको चर्चा गरे । सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन उनले उपस्थित कर्मचारीहरूलाई निर्देशन दिए ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले विपद् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्कता र भावी योजना लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया