काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी निर्माणमा ३ पुस्ताको संयोजन अपरिहार्य रहेको धारणा सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत शुक्रबार उनले पूर्वीय दर्शनले मानव समाजलाई ४ पुस्ताको संयोजनका रूपमा व्याख्या गर्ने गरेको उल्लेख गर्दै एमालेले पनि पार्टी निर्माणमा ३ पुस्ताको संयोजनलाई अघि सारेको स्पष्ट गरे ।
महासचिव पोखरेलका अनुसार राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्तासम्म सीमित हुन सक्दैन । उनले खास समयमा देखिने असन्तोष र विद्रोहलाई अस्वाभाविक नभएको बताउँदै त्यसले समाज र राजनीतिको बाटो मात्र निर्धारित गर्ने अवस्था नआएको टिप्पणी गरे ।
समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास बताउँदै उनले तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनु नहुने स्पष्ट पारेका छन् । समाज र राजनीतिको विकास बहुपुस्तीय संयोजनमार्फत मात्र सम्भव हुने र त्यही दृष्टिकोणलाई एमालेले आफ्नो पार्टी निर्माणमा आत्मसात गरेको पोखरेलले स्पष्ट पारे ।
उनले लेखेका छन्, ‘पूर्वीय दर्शनले मानव समाजलाई ४ पुस्ताको संयोजन मान्दछ, नेकपा एमालेले पार्टी निर्माणमा ३ पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको छ, राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्दैन, खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ, समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनु हुँदैन ।’




प्रतिक्रिया