सुनसरी- अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन्।
कोशी ब्यारेजमा गरिएको मापन अनुसार कोशीमा ३ लाख ३५ हजार ३६० क्यूसेक पानी प्रति सेकेण्ड बग्न थालेको छ । ८ बजे बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको सतह निरन्तर बढ्दो छ ।
कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएका हुन् ।
शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो।
यसपछि लगातार पानीको वहाव घटेको थियो। शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।




प्रतिक्रिया