काठमाण्डु – शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारणले प्रभावित बल्खु, टेकु, विष्णुमती कोरिडोर लगायत क्षेत्रमा आईतबार दिनभर ठूलो मात्रामा सफाइ र हिलो व्यवस्थापनको काम भइरहेको छ ।
नगर प्रहरी बलका नायव उपरीक्षक मीनबहादुर थापाका अनुसार आईतबार बिहानैदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका सय जना कामदार, ३ वटा जेसीभी, ३ वटा जेट मशिन र डम्पर प्रयोग गरी प्रभावित क्षेत्रमा हिलो सोहोर्ने, ढुङ्गा–ग्राभेल हटाउने र सडक सफा गर्ने कार्य भइरहेको छ ।
बल्खु तरकारी बजार, साझा पेट्रोल पम्प अगाडिको लाइन, टेकु दोभान, बङ्सीघाट, च्यासल, संखमुल, नरेफाटको लालीगुराँस चोक तथा विष्णुमती कोरिडोर क्षेत्रमा विशेष रूपमा काम भइरहेको छ ।
तर बङ्सीघाट र टेकु दोभान क्षेत्रमा अत्यधिक गिलो हिलोका कारण मशिनले समेत काम गर्न नसक्दा आजको काम अधुरो रहेको थापाले बताए ।
‘हिलो पूरै पानी–पानी भएको छ । साबेलले निकाल्न, मशिनले समेत सोहोर्न नसक्ने अवस्था रहेको छ । त्यसैले आज केही ठाउँमा काम सहज रूपमा गर्न सकिएको छैन । घाम लागेमा भोलिदेखि फेरि सफाइ सहज हुनेछ,’ थापाले भने ।
नगर प्रहरी बलका टोलीहरू प्रभावित बस्तीमा पनि खटिएका छन् । बङ्सीघाट र टेकु दोभानका बस्तीमा हिलो घरभित्र पसेको र स्थानीयले पनि सफाइ कार्यमा सहयोग गरिरहेका थापाले बताए ।
थापाका अनुसार बल्खु फलफूल बजार क्षेत्रको सडक अझै पनि अत्यन्त गिलो छ, जसलाई अहिले अस्थायी रूपमा हिलो थुपारेर बाटो खुलाइएको छ ।
थापाले भने, ‘हामीले तत्काल सम्भव हुने ठाउँमा हिलो व्यवस्थापन गरेका छौं । तर अझै उठाउनै नसकिने अवस्था छ । घाम लागेपछि सफाइ सहज हुनेछ र प्रभावित क्षेत्र सफा गर्न सकिनेछ ।’




प्रतिक्रिया