काठमाण्डु – हमास लडाकु समूहले इजरायलको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ ।
यसअघि २० जना बन्दधकको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको थियो । तर वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपीन जोशीको पनि नाम रहेको समाचार सार्वजनिक गरेको छ ।
उनी गाजामा अहिले जीवित एक मात्र गैर–इजरायली बन्धक रहेको वासिङ्टन पोस्टको खबरमा उल्लेख छ ।
गाजामा २५१ जनामध्ये अहिले ४८ जना बन्धक हमासको कब्जामा छन् । तीमध्ये केहीको ज्यान गएको अनुमान गरिएको छ । हालै भएको हमास–इजरायल युद्धविरामसँगै बन्धकहरु रिहा हुँदैछन् ।
जोशी दुई वर्षअघि सन् २०२३ अक्टोबार ७ तारिखमा आक्रमण शुरु हुनु एक महिना अघि नेपालबाट इजरायल पुगेका थिए ।
अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका जोशी रिहा हुने सम्भावना बढेको हो ।
इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गरेका छन् । युद्धविराम सम्झौता पूर्णरूपमा कार्यान्वयन भएमा हमासको नियन्त्रणमा रहेका सबै बन्धक रिहा हुनेछन् ।




प्रतिक्रिया