काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशका ३ ठूला दलका शीर्ष नेताहरूलाई अब नेतृत्वबाट बिदा लिन आग्रह गरेका छन् ।
आईतबार भिडियो सन्देश जारी गर्दै उनले जेनजी आन्दोलनपछि देशको राजनीतिक परिस्थिति पूर्ण रूपमा बदलिएको बताउँदै नयाँ पुस्ताले अब पार्टी सञ्चालनको जिम्मा लिनुपर्ने बताए ।
थापाले भने, ‘आममान्छे मात्र होइन, हाम्रै पार्टीहरू कांग्रेस, एमाले र माओवादीका मतदातासँग सोध्दा पनि उनीहरूले भन्छन् – तिम्रो पार्टीको टाउको हटाऊ । तर नेताहरू प्राविधिक कारण देखाएर अझै पदमा टाँसिइरहेका छन् ।’
उनले ३ दलका शीर्ष नेताहरूलाई घर फर्किन आग्रह गर्दै भने, ‘अब पार्टी हामी चलाउँछौं ।’
उनले पार्टीभित्र नेतृत्व परिवर्तन रोक्न प्राविधिक कारण देखाउने प्रवृत्तिमाथि आलोचना गर्दै भने, ‘टेक्निकल कारण देखाएर उहाँहरू पनि हट्न चाहिरहनुभएको छैन, हामीले पनि हटाउन सकिरहेका छैनौं ।’
थापाले प्रमुख नेताहरूलाई बिदा गरेर नयाँ पुस्तालाई नेतृत्व गर्ने अवसर दिनुपर्ने भन्दै कांग्रेस, एमाले र माओवादीका सबै कार्यकर्तालाई आह्वान गरे । उनले भने, ‘हामी आफ्ना नेताहरूलाई सम्मानका साथ बिदा गरौं, तर अब नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ । म सबैलाई अपिल गर्छु, हामीले आफ्ना ३ नेतालाई खुला रूपमा भन्न सक्नुपर्छ, अब नो मोर, तपाईंहरूले छाड्नुपर्छ, हामीले पार्टी चलाउँछौं ।’
थापाले आफूले उठाएको मुद्दामाथि केहीले प्रश्न उठाउने गरेको उल्लेख गर्दै त्यसको जवाफमा भने, ‘कतिपयले भन्नुहुन्छ, भदौ २२ गते तपाईंहरू पनि सँगै थियौ । हो, थियौं । तर हामी नियमभित्र बाँधिएका थियौं । अहिले त ती नियम नै बाँकी छैनन् । भदौ २३ र २४ पछि के संसद् बाँकी छ ? के संसद्ले बनाएको सरकार बाँकी छ ?’
उनले भदौ २२ अघिको र त्यसपछिको नेपाल एउटै नहुने स्पष्ट गर्दै राजनीतिक प्रणालीमा नै नयाँ युग सुरु भएको बताए । ‘के भदौ २२ अघिको र २२ पछिको नेपाल एउटै हो ? अब हामीले यो सन्देश बुझ्नैपर्छ,’ उनले भने ।
सभापतिप्रति सहानुभूति नराखेको भनेर आफूलाई आलोचना गर्नेहरूलाई जवाफ दिँदै उनले भने, ‘मैले र महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ मै वक्तव्य जारी गरेका थियौं । त्यो केवल औपचारिकता होइन, हाम्रो अनुभूति पनि हो । हामी सभापति मात्र होइन, कुनै पनि व्यक्तिमाथि भौतिक आक्रमण अस्वीकार्य ठान्छौं । हामी आफैं त्यही घटनाबाट बालबाल जोगिएका हौं ।’




प्रतिक्रिया