वासिङ्टन –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको राजनीतिक शक्ति परीक्षणका रूपमा हेरिएको मध्यावधि निर्वाचनमा आज मतदान हुँदैछ।
निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा कायम बहुमत जोगाउनुपर्ने चुनौती छ। विपक्षी डेमोक्रेटिक पार्टी भने दुवै सदनमा बहुमत हासिल गर्ने रणनीतिमा छ।
नेपाली समयअनुसार आज साँझ ४ः४५ बजेदेखि मतदान सुरु हुनेछ। यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि मध्यावधि निर्वाचन गरिन्छ। यसमा संसद्का सदस्यका अतिरिक्त केही राज्यमा गभर्नर पदका लागि पनि मतदान हुन्छ।
हाल रिपब्लिकन पार्टीको संसद्का दुवै सदनमा बहुमत छ। तर, निर्वाचनबाट कुनै एक सदनमा मात्रै भए पनि बहुमत गुमाए ट्रम्पलाई आफ्नो राजनीतिक एजेन्डाअनुसारका विधेयक पारित गराउन कठिन हुनेछ।
बहुमतको गणित
अमेरिकी संसद्का दुवै सदनमा बहुमत हासिल गर्न आवश्यक सिट संख्या फरक छ। सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ।
अमेरिकी सिनेटमा कुल १०० सिट छन्। हाल रिपब्लिकन पार्टीसँग ५३ र डेमोक्रेटिक पार्टीसँग ४५ सिट छन्। बाँकी दुई सिट स्वतन्त्र सांसदसँग भए पनि उनीहरूले डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्छन्। यसरी सिनेटमा रिपब्लिकन र डेमोक्रेटिक पक्षबीचको शक्ति सन्तुलन ५३–४७ छ।
सिनेटमा बहुमतका लागि ५१ सदस्यको समर्थन आवश्यक हुन्छ। दुवै पक्षसँग ५०–५० सिट भए उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिन सक्छन्।
यसपटक सिनेटका ३५ सिटमा निर्वाचन हुँदैछ। तीमध्ये २२ सिट रिपब्लिकन र १३ सिट डेमोक्रेटिक पार्टीका छन्। डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत हासिल गर्न कम्तीमा चार सिटको खुद लाभ लिनुपर्नेछ।
हाउसमा बहुमतका लागि २१८ सिट
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा कुल ४३५ सिट छन्। यहाँ बहुमतका लागि कम्तीमा २१८ सिट आवश्यक पर्छ।
यसपटक सबै ४३५ सिटमा निर्वाचन हुँदैछ। जुन पार्टीले २१८ वा त्यसभन्दा बढी सिट जित्छ, उसैले तल्लो सदनमा बहुमत कायम गर्नेछ।
त्यसैले रिपब्लिकन पार्टीका लागि दुवै सदनमा बहुमत जोगाउनु मुख्य चुनौती बनेको छ भने डेमोक्रेटिक पार्टी दुवै सदन आफ्नो नियन्त्रणमा लिने प्रयासमा छ।
निर्वाचनका चार प्रमुख मुद्दा
यसपटकको मध्यावधि निर्वाचनमा इरान युद्ध, महँगी, आप्रवासन नीति, भन्सार शुल्क तथा गर्भपतनको अधिकार प्रमुख चुनावी मुद्दा बनेका छन्।
इरान युद्ध र महँगी
इरानसँग युद्ध सुरु भएपछि अमेरिकामा इन्धनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। समाचारअनुसार डिजेलको मूल्य ७० प्रतिशत र पेट्रोलको मूल्य ५० प्रतिशतसम्म बढेको दाबी गरिएको छ।
यसले अमेरिकी उपभोक्ताको दैनिक खर्च बढाएको छ। ट्रम्पको लोकप्रियता दरसमेत घटेर ३१ प्रतिशतमा पुगेको उल्लेख गरिएको छ।
इन्धनको मूल्यवृद्धिका कारण रिपब्लिकन पार्टीमाथि दबाब बढेको छ। त्यस्तै, रुसबाट तीन लाख मेट्रिक टनभन्दा बढी डिजेल खरिद गर्ने निर्णयलाई लिएर पनि ट्रम्प प्रशासनको आलोचना भइरहेको छ।
आप्रवासन र अवैध प्रवासी
ट्रम्पको दोस्रो कार्यकालको पहिलो १८ महिनामा करिब ९ लाख ८० हजार मानिसलाई अमेरिकाबाट निष्कासन गरिएको समाचारमा उल्लेख छ। मेक्सिको सीमाबाट हुने अवैध प्रवेशमा ९५ प्रतिशत कमी आएको दाबी पनि गरिएको छ।
तर, आप्रवासन नियन्त्रणका नाममा भइरहेको छापा तथा आपराधिक अभिलेख नभएका व्यक्तिलाई समेत निष्कासन गरिएको भन्दै विरोध भइरहेको छ।
डेमोक्रेटिक पार्टीले सरकारी कारबाहीका कारण परिवारहरू छुट्टिनुपरेको र कृषि तथा निर्माण क्षेत्रमा कामदारको अभाव हुन सक्ने मुद्दा उठाउँदै आएको छ।
भन्सार शुल्क र रोजगारी
ट्रम्पले भन्सार शुल्क ९ट्यारिफ० नीतिमार्फत अमेरिकी उद्योग र रोजगारीलाई संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए।
तर, यस नीतिका कारण सवारीसाधन, इलेक्ट्रोनिक्स, कपडा तथा निर्माण सामग्रीको मूल्य १२ देखि १८ प्रतिशतसम्म बढेको दाबी गरिएको छ।
ट्यारिफका कारण अमेरिकी परिवारको खर्च बढेको र अन्य देशले लगाएका प्रतिशोधात्मक भन्सार शुल्कले अमेरिकी किसानको भटमास तथा मकैको व्यापार प्रभावित भएको विषय पनि निर्वाचनमा उठिरहेको छ।
गर्भपतनको अधिकार र महँगो स्वास्थ्य उपचार
गर्भपतनको कानुनी अधिकार र स्वास्थ्य बिमा खर्च पनि यसपटकका प्रमुख चुनावी मुद्दा हुन्।
केएफएफको सर्वेक्षणअनुसार ६८ प्रतिशत महिला मतदाता र १८ देखि २९ वर्ष उमेर समूहका ७४ प्रतिशत युवाका लागि गर्भपतनको अधिकार महत्त्वपूर्ण चुनावी मुद्दा बनेको छ।
डेमोक्रेटिक पार्टीले देशभर महिलालाई गर्भपतनको कानुनी अधिकार सुनिश्चित गर्नुपर्ने पक्षमा आवाज उठाउँदै आएको छ। रिपब्लिकन पार्टी भने गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार सम्बन्धित राज्यलाई नै दिनुपर्ने पक्षमा छ।
त्यस्तै, ओबामाकेयरअन्तर्गत दुई करोड १३ लाख मानिसले स्वास्थ्य बिमाको सुविधा लिइरहेका छन्। सरकारी अनुदान घटेमा स्वास्थ्य बिमा महँगिने चिन्ता पनि मतदातामाझ छ।
सिनेटका पाँच सिटमा कडा प्रतिस्पर्धा
यसपटक सिनेटका केही निर्वाचन क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ। टेक्सास, ओहायो, नर्थ क्यारोलाइना, मिशिगन र मेनमा दुवै पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको समाचारमा उल्लेख छ।
टेक्सास स् रिपब्लिकन केन प्याक्सटन र डेमोक्रेट जेम्स टालारिकोबीच प्रतिस्पर्धा छ। अक्टोबरका दुई सर्वेक्षणमा दुवैले ४९ प्रतिशत मत पाएका थिए। अर्को सर्वेक्षणमा टालारिको ३।८ प्रतिशत बिन्दुले अगाडि देखिएका छन्।
ओहायो स् रिपब्लिकन जोन हस्टेड र डेमोक्रेट शेरोड ब्राउनबीच प्रतिस्पर्धा छ। सर्वेक्षणमा ब्राउन ४ देखि ६ प्रतिशत बिन्दुले अगाडि रहेको उल्लेख छ।
नर्थ क्यारोलाइना स् डेमोक्रेट रोय कुपरले ५२ प्रतिशत मतसहित रिपब्लिकन माइकल वाटलीलाई १३ प्रतिशत बिन्दुले पछाडि पारेको सर्वेक्षणमा देखाइएको छ।
मिशिगन स् डेमोक्रेट अब्दुल अल–सइदले ५० प्रतिशत र रिपब्लिकन माइक रोजर्सले ४८ प्रतिशत मत पाएको सर्वेक्षणमा उल्लेख छ।
मेन : डेमोक्रेट ट्रोय ज्याक्सनले ४९ प्रतिशत र रिपब्लिकन सिनेटर सुसान कोलिन्सले ४७ प्रतिशत मत पाएको सर्वेक्षणमा देखाइएको छ।


प्रतिक्रिया