काठमाण्डुमा अवैध रूपमा बस्दै आएका पाँच बंगलादेशी पक्राउ, १४ थान राहदानी बरामद

काठमाण्डुमा अवैध रूपमा बस्दै आएका पाँच बंगलादेशी पक्राउ, १४ थान राहदानी बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना बंगलादेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।

सोमबार साँझ सशस्त्र प्रहरी बलको एपीएफ इन्टेलिजेन्स ब्यूरो र नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा पर्नेमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह र बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्।

सशस्त्र प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको जनाएको छ।

प्रहरीले रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी फेला पारेको छ।

उक्त कोठाबाट ठूलो परिमाणमा आर्थिक लेनदेन भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै, नियन्त्रणमा लिइएका जाहिंगिर आलममाथि एक जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको खुलेको छ।

उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ।

पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।