अस्ट्रेलियन अलराउन्डर म्याक्सवेलले लिए सन्न्यास

अस्ट्रेलियन अलराउन्डर म्याक्सवेलले लिए सन्न्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अस्ट्रेलियका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । द बिग शो नामले चिनिने ३८ वर्षीय म्याक्सवेलले १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिएका हुन् ।

सन् २०१२ मा अफगानिस्तानविरुद्ध एकदिवसीय खेलबाट डेब्यू गरेका म्याक्सवेलले अस्ट्रेलियाका लागि कुल २ सय ८६ अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनले ७ हजार २ सय २६ रन बनाएका छन् भने १ सय ३६ विकेट लिएका छन् ।

उनी अस्ट्रेलियालाई सन् २०१५ को एकदिवसीय विश्वकप, २०२१ को टी–२० विश्वकप र २०२३ को एकदिवसीय विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेल्ने तीनपटकका विश्वविजेता खेलाडी हुन् ।

म्याक्सवेलको करियरको सबैभन्दा स्मरणीय क्षण सन् २०२३ को एकदिवसीय विश्वकपमा मुम्बईको वानखेडे स्टेडियममा रह्यो ।

२ सय ९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ९१ रनमै ७ विकेट गुमाएर हारको संघारमा पुगेको अवस्थामा म्याक्सवेलले ऐतिहासिक इनिङ्स खेलेका थिए । उनले १ सय २८ बलमा अविजित २ सय १ रनको दोहोरो शतक प्रहार गरे ।

कप्तान प्याट कमिन्ससँग मिलेर आठौं विकेटका लागि २ सय २ रनको अविजित साझेदारी गर्दै उनले असम्भव ठानिएको जित दिलाएका थिए । एकदिवसीय क्रिकेटको इतिहासमा लक्ष्य पछ्याउने क्रममा दोहोरो शतक बनाउने र छैटौं वा सोभन्दा तल्लो क्रममा ब्याटिङ गर्दै दोहोरो शतक प्रहार गर्ने उनी विश्वकै पहिलो ब्याटर हुन् ।

अस्ट्रेलियाका लागि सबैभन्दा बढी १ सय ३० टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका म्याक्सवेलले यो फर्म्याटमा पनि ५ वटा शतक बनाएका छन् । यो रोहित शर्मासँगै संयुक्त रूपमा सर्वाधिक शतक हो ।

टी–२० अन्तर्राष्ट्रियमा १५४.४२ को स्ट्राइक रेटमा २ हजार ८ सय ९७ रन बनाएका म्याक्सवेलले एकदिवसीयतर्फ ३ हजार ९ सय ९० रन र ७७ विकेट लिएका छन् । सन् २०२३ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध मात्र ४० बलमा शतक प्रहार गर्दै उनले एकदिवसीय विश्वकप इतिहासकै सबैभन्दा छिटो शतकको कीर्तिमानसमेत बनाएका थिए । यसका साथै म्याक्सवेलले अस्ट्रेलियाका लागि ७ टेस्ट म्याच खेल्दै सन् २०१७ मा भारतको राँचीमा १ शतकसहित ३ सय ३९ रन बनाएका छन् ।

म्याक्सवेलले अस्ट्रेलियाका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच सन् २०२६ को टी–२० विश्वकपमा ओमानविरुद्ध खेलेका थिए ।