विपिन गाजामा मारिएको पुष्टि गरेको हमासले शव हस्तान्तरण गर्दै

विपिन गाजामा मारिएको पुष्टि गरेको हमासले शव हस्तान्तरण गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेलअविव – अध्ययनका लागि इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको हमासले पुष्टि गरेको छ ।

सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत ४ जना बन्दीको शव हस्तान्तरण गर्ने तयारी भएकोबारे जनाउँदै हमासले त्यसमा विपिनको नाम समावेश गरेको छ ।

मृतक बन्दीको सूचीमा इजरायली नागरिक गाइ इलाउज, योस्सी सराबी, ड्यानियल पेरेजसँगै नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश छ ।

हमासद्वारा जारी विज्ञप्तिअनुसार यी चारै जनाको मृत्यु गाजामा भएको र सोमबारै उनीहरूका शव रेडक्रसलाई बुझाइने तयारी गरिएको छ ।

नेपालका विपिन जोशी इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि शिक्षार्थीका रूपमा त्यहाँ गएका थिए । २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि उनी बेपत्ता भएका थिए । इजरायलले उनको अवस्थाबारे अहिलेसम्म औपचारिक पुष्टि नगरे पनि गम्भीर चिन्ता व्यक्त गरेको थियो ।

विपिनसँगै शव हस्तान्तरणमा पर्ने गाइ इलाउजलाई नोभा संगीत उत्सवबाट हमासले अपहरण गरेको थियो । उनलाई गाजाको अस्पतालमा उपचार नपाएर मृत्यु भएको बताइएको छ । उनको मृत्यु २०२३ डिसेम्बरमै पुष्टि भएको थियो ।

हमास र इजरायलबीच २०२३ अक्टोबर ७ देखि जारी द्वन्द्व अन्त्यका लागि सुरु गरिएको मिडल इस्ट पिस प्लान अन्तर्गतकै पहिलो चरणमा शव हस्तान्तरण प्रक्रिया अघि बढ्न लागेको छ ।

यसैबीच, नेपाल सरकारले विपिन जोशीको अवस्थाबारे थप जानकारीका लागि इजरायली अधिकारी र अन्तर्राष्ट्रिय निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।