काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसपा नेपाल मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । मधेस प्रदेशका पूर्वराज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गरिएको छ ।
उपभोक्ता समितिको खाताहरूमा जम्मा–दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा–दाखिला गरेर हिनामिना गरेको अभियोगमा
सिंहसहित १६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सिंहले मधेस प्रदेश, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम (प्रदेश संसदीय विकास कोष) अन्तर्गत आर्थिक वर्ष २०७८–०७९ को वार्षिक बजेटमा विनियोजन भएको रकमबाट मधेस प्रदेश, महोत्तरी जिल्ला क्षेत्र नं. ४ (ख) अन्तर्गतका रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरुमा विकास योजनाहरु संचालन गर्नको लागि गठन भएका उपभोक्ता समितिहरु, देवी माहारानी सौन्दर्यकरण उपभोक्ता समिति, मनराशिसवा नगरपालिका–२ कट्टी, रधवा पिपल गुरुकुल एकडेमी हुँदै अनहेरभाटस्थानसम्मको सडक स्तरोन्नति कार्य उपभोक्ता समिति, सम्सी गाउँपाकिला–५ संग्रामपुर, अधुरो कमलामाई मन्दिर निर्माण तथा मालतमाई स्थानको कम्पाउन्डवाल निर्माण उपभोक्ता समिति, मनराशिसवा नगरपालिका–७, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समिति रामगोपालपुर–५, कन्चनपुरबाट कमिसन लिएकोअनुसन्धानमा देखिएको छ ।




प्रतिक्रिया