काठमाण्डु- राजधानीको पाँचतारे होटल हायात रेजेन्सी अस्थायी रूपमा बन्द गरिए पछि प्रधानमन्त्री सुशीला कार्कीले चासो जनाएकाी छन् ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनीका कारण संरचनागत क्षति पुगेपछि होटल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको होटल व्यवस्थापनले जनाएको छ ।
होटल प्रशासनका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने भएकाले बन्द गरिएको हो । सो क्रममा सुरक्षाको संवेदनशीलता र जोखिमलाई ध्यानमा राख्दै होटलबाट प्रवाह भइरहेका सम्पूर्ण व्यवसायिक सेवा पूर्ण रूपमा बन्द गरिएको पनि होटल प्रशासनले जनाएको छ ।
हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री कार्कीले चासो व्यक्त गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले होटल व्यवस्थापनसँग शनिबार बिहान छलफल गरेका छन् । त्यस क्रममा अर्थमन्त्री खनालले होटलको सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र विचलित नभई सेवा सुचारु गर्न आग्रह गरे ।
‘तपाईँहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्’, मन्त्री खनालले भने ।
यसबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने जनाएको छ ।




प्रतिक्रिया