रौतहट – रौतहटको कटहरिया नगरपालिकामा रहेका कर्मचारीहरू पुन: आन्दोलित भएका छन् ।
नगरपालिकामा कार्यरत करार र ज्यालादारीका कर्मचारीहरूले लामो समयदेखि तलबभत्ता नपाएको भन्दै बुधबारदेखि कार्यालयमा तालाबन्दी गरेका हुन् ।
दिपावली तथा छठ पर्व अगावै भुक्तानी गर्ने भनिएको भए पनि रकम अझै नआएकाले आन्दोलित हुनुपरेको उनीहरूको भनाइ छ । नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाको मूल कार्यालयमा तालाबन्दी गरिएको कटहरिया नगरपालिका वडा नम्बर ८ का कर्मचारी मुकुन्द यादवले बताए ।
उनका अनुसार छठ पर्वअघि नै तलबभत्ता दिने आश्वासन पाएपनि अहिलेसम्म नपाएको हो । ‘लामो समयदेखि नगर सेवामा समर्पित छौं,’ उनले भने, ‘तर समयमा तलबभत्ता नपाउँदा अहिले दैनिक जीवन प्रभावित भएको छ ।’ आफूहरूको तलबको रकम भुक्तानी नहुँदासम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए ।
कटहरिया नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले असोजमा दिएको लिखित आश्वासन कार्यान्वयन नगरेको उनको आरोप छ । यता नगर प्रमुख अजय प्रकाश जयसवालले करारका कर्मचारीको मागप्रति गम्भीर रहेको बताएका छन् ।
यद्यपि विभिन्न समस्याका कारण तलबभत्ता भुक्तानी नभए पनि यथाशीघ्र दिने प्रतिबद्वता जनाएका छन् । कटहरिया नगरपालिकामा भएको आन्दोलनका कारण कामकाज प्रभावित भएको छ ।




प्रतिक्रिया