कांग्रेसले सरकारलाई भन्यो- सडक दुर्घटनाको जोखिमबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल बनाउनू

कांग्रेसले सरकारलाई भन्यो- सडक दुर्घटनाको जोखिमबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल बनाउनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा बिहीबार भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै त्यसको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद दुलालले शुक्रबार वक्तव्य जारी गर्दै घटनाको गम्भीरतापूर्वक जाँच हुनुपर्ने बताएका छन्।

काठमाण्डुबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुर जाँदै गरेको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएका थिए।

कांग्रेसले मृतकका परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै कांग्रेसले दुर्घटनाको जोखिम न्यूनीकरणका लागि तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

कार्यदलमार्फत सडक दुर्घटनाका कारणको गहन अध्ययन गरी सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गर्नुपर्ने कांग्रेसको माग छ।

यसका साथै, सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीतिगत तथा व्यावहारिक सुधारका उपाय अवलम्बन गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।