काठमाण्डु – अविरल वर्षा र बंगालको खाडीबाट विकसित चक्रवात मोन्थाका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएको छ ।
नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका सडक सञ्जालमा ठूला अवरोधहरू देखिएका छन् ।
संखुवासभाको भोटखोला गाउँपालिका– ४, बरुणखोला क्षेत्रमा निरन्तर वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो मार्ग बुधबार साँझ ७ बजेदेखि बन्द रहेको र सडक मर्मत कार्य सुरु नभइसकेको जनाइएको छ ।
त्यस्तै, इलाममा चक्रवात मोन्थाको सम्भावित प्रभावलाई मध्यनजर गर्दै मेची राजमार्गमा गएरातिदेखि सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका– ११ माम्तीखोला, डालाबेसी, बुल्ढुङ्गा लगायत क्षेत्रमा पहिरो खस्दा बीपी राजमार्ग एकतर्फी सञ्चालन भएको स्थानीय प्रशासनले जनाएको छ ।
सडकमा माटो र ढुंगाको थुप्रो हटाउने काम भइरहेको भए पनि पूर्ण रूपमा सुचारु हुन अझ केही समय लाग्ने अनुमान गरिएको छ ।
यसैबीच, रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध बनेको छ । सीमा नाकाबाट हुने मालसामान ढुवानी र आवागमन पूर्णरूपमा रोकिएको छ ।
यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड पनि अवरुद्ध भएको छ।
सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा बिहीबार बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए।
वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हो ।





प्रतिक्रिया