काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा बहुप्रतिक्षित भेटघाट भएको छ।
पारस्परिक शुल्क, अस्थिर युद्धविराम र विश्वभरका उद्योग र व्यवसायका लागि अनिश्चितताले गर्दा ट्रम्प–सी भेटघाट हुन दश महिना लागेको हो ।
वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले फेन्टानिल बनाउन प्रयोग हुने रसायनको आपूर्तिको बदलामा सबै सामानमा पहिले लगाइएको कर घटाउने घोषणा गरेका छन्।
अमेरिकाले यसलाई फेन्टानिल कर भन्छ। यी कर २० प्रतिशतबाट १० प्रतिशतमा घटाइएको छ। ट्रम्पले चीनले आफ्नो पहिलेको घोषणा अनुसार अमेरिकाबाट ठूलो मात्रामा सोयाबीन किन्न सहमत भएको बताए।
उनले चीनसँगको दुर्लभ खनिज व्यापारको समस्या पनि समाधान भएको बताए। हालैका दिनमा दुई देशबीच करलाई लिएर निकै तनाव रहेको छ। तर अब दुई देशबीच सम्झौता हुने आशा थियो।
अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले चिनियाँ सामानमा १०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी अब कार्यान्वयन हुने कुरामा आफूलाई लाग्दैन भन्ने पनि बताए।
विश्वका दुई ठूला अर्थतन्त्र करिब हरेक क्षेत्रमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्। राष्ट्रिय सुरक्षा चिन्ताका कारण अत्यधिक लोकप्रिय चिनियाँ एप टिकटक पनि लामो समयदेखि दुई देशबीच तनावको स्रोत बनेको छ।
विश्लेषकले दुई नेताले यस वार्तालापमा टिकटकको अमेरिकी सञ्चालनको बिक्री सम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन सक्ने विश्वास गरे।
समाचारअजुसार रूस–युक्रेन युद्धको बारेमा पनि उनीहरूबीच गम्भीर छलफल भएको छ । दुई नेताहरू द्वन्द्व अन्त्य गर्न मिलेर काम गर्न सहमत भएका छ ।
‘हामी दुवैलाई थाहा छ कि दुई पक्षहरू मतभेदमा छन् र कहिलेकाहीँ तपाईंले तिनीहरूलाई लड्न दिनुपर्छ,’ ट्रम्पले भने, ‘तर सी जिनपिङले हामीलाई मद्दत गर्नुहुनेछ र हामी युक्रेनमा सँगै काम गर्नेछौं। हामीले गर्न सक्ने अरू केही छैन ।’




प्रतिक्रिया