काठमाण्डु – निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्गको इलाम खण्डमा सवारी साधन सञ्चालन ठप्प भएको छ ।
यो खण्डको राजदुवाली क्षेत्रमा गत असोज १७ र १८ गतेको झरीका कारण पहिरो गएपछि खोलिएको नयाँ ट्र्याक भासिने र दबिने क्रम बढिरहेको छ भने वैकल्पिक रूपमा खोलिएको तिल्केनी–सिमलगोलाई सडकमा समेत ठाउँ–ठाउँमा पहिरो गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
बाढी र पहिरोका जोखिम बढेका कारण इलाम प्रशासनले बिहीबार साँझदेखि यो सडकमा सवारी आवागमन बन्द गराएको छ ।
रातभरको पानीले सडकमा क्षति पुगेपछि सडकमा सवारी आवागमनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
यस्तै, सुनसरीको धरानदेखि धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर पनि बाढीका कारण अवरुद्ध भएको छ ।
तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा पानीको बहाव बढेका कारण सवारी आवागमन ठप्प भएको हो ।
बिपी राजमार्गमा गाडी चलाउन रोक
यता, बिपी राजमार्गमा शुक्रबार पनि सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै बिहीबार साँझ ५ देखि शुक्रबार बिहान ६ बजेसम्म दुई दिन अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
उक्त राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुण्डे–सिन्धुली सीमा नेपालथोकको सडकखण्डमा दुई दिन सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए। उनका अनुसार रोशी खोला तथा स्थानीय सहायक खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै बेला स्थानमा सवारीसाधन रोक्न सक्नेछ।
यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण गत भदौ १६ गतेदेखि १५ दिन सवारी सञ्चालनमा रोक लगाइएकामा यही असोज १ गतेदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याइएको थियो। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो।
काठमाण्डुबाट जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र काठमाण्डुतर्फ आउने सवारीसाधनलाई सिन्धुलीको सिमाना नेपालथोकमा नै रोकिने छ।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड नै बगाएका कारण खोलामा कतै एकतर्फी र कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ।
बाढीपहिरोले राजमार्गको कुल १६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो।




प्रतिक्रिया