काठमाण्डु – केही दिनदेखि भएको वर्षा र त्यसपछि आएको पहिरोले विभिज्ज स्थानमा सडक अवरुद्ध भएको छ ।
वर्षाका कारण सडक हिलाम्ये भएपछि बुटवल–नारायणगढअन्तर्गत दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । पानी पर्न रोकिए पनि दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले गाडीको लामो जाम छ ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पूर्व)का अनुसार दाउन्नेमा एकतर्फी हुँदा गाडीहरु विस्तारै चलेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा समस्या छ ।
अहिले दाउन्ने क्षेत्रमा सडक अत्यधिक हिलाम्ये र चिप्लो भएकाले कतिपय ठाउँमा एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन् ।
दाउन्ने नजिकैको घ्यू खोलामा बेला–बेला गाडी फस्ने गरेकाले गएराति यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । प्रहरीले यात्रुलाई आवश्यक सावधानी अपनाई र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
यता मकवानपुरको हेटौँडा–काठमाण्डु जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध छ । इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा हिजो बेलुकादेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
उनका अनुसार सडक अवरुद्ध भएपछि काठमाण्डुबाट हेटौँडा र हेटौँडाबाट काठमाण्डु आउनेजाने गाडी बीचबाटोमा रोकिएका छन् । पहिरो पन्छाउन समन्वय भइरहेको तर अहिलेसम्म काम शुरु भएको छैन ।
सडक खुलाउन समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
बीपी राजमार्ग खुलाउने प्रयास जारी
यसैगरी तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी छ । बीपी राजमार्गअन्तर्गत काभ्रे खण्डको विभिन्न ठाउँमा पहिरो र लेदोले अवरुद्ध सडक खुल्न नसक्दा यात्रु समस्यामा परेका छन् ।
पानी परेपछि शुक्रबार बिहानदेखि बीपी राजमार्गको काभ्रेमा विभिन्न ठाउँमा पहिरो खसेको थियो भने लेदो पनि बगेको थियो । इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार चौकीडाँडा, चारसयबेसी, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, बिरुवाडाँडा, डालाबेशीलगायतको ठाउँमा लेदोको कारण राजमार्ग अवरुद्ध छ ।
आइतबार दिउँसोसम्म सडक खुलाउने गरी प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यस्तै म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक खुलेको छ ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुुमाउने)मा खसेको पहिरो हटाइएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले हिजो पहिरो पन्छाएपछि गाडी चल्न थालेका कार्यालय प्रमुख बिष्णु पौडेलले जानकारी दिए ।
सडक खुलेपछि दरवाङदेखि बेनी, पोखरा, काठमाण्डुलगायत देशका विभिन्न ठाउँमा जाने गाडी चलेका छन् ।




प्रतिक्रिया