विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको बिहार राज्यमा बिहीबारदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ ।

कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो । मतदानसाँझ ६ बजेसम्म चल्नेछ ।

पहिलो चरणको मतदानमा चर्चित नेतादेखि कलाकारसम्म प्रतिस्पर्धामा छन् । यस चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादव जस्ता ठूला नामहरू सामेल छन्।

यस्तै तेजप्रताप यादव, अनन्त सिंह, लोकगायिका मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, फिल्म स्टार खेसारी लाल यादव र ओसामा शाहबलगायतका उम्मेदवार चर्चामा रहेका छन ।

मतदान पटना, वैशाली, नालन्दा, दरभंगा, बक्सर, सारण, सिवान, सहरसा, बेगुसराय, गोपालगञ्ज, समस्तीपुर, मधेपुरा, मुंगेर, लखीसराय, भोजपुर, मुजफ्फरपुर, खगरिया र शेखपुरा जिल्लामा भइरहेको छ । राजधानी पटनामा पनि यसै चरणमा चुनाव भइरहेको छ ।

करिब ३ करोड ७५ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ । पहिलो चरणमा १,३१४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

मतगणना नोभेम्बर १४ मा हुने तय गरिएको छ । निर्वाचनका लागि ४५,३४१ मतदान केन्द्र स्थापना गरिएको छ भने सुरक्षाका लागि करिब ४ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।