काठमाण्डु – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि सेवन गर्दै गर्दा घाँटीमा अड्किएर १८ महिनाकी बालिकाको मृत्यु भएको छ ।
गढवा–४ अजगढवाकी शिवकुमार यादवकी १८ महिनाकी छोरी जमुना यादवको बिहीबार दिउँसो जुकाको औषधि सेवन गर्दा घाँटीमा अड्किएको थियो ।
घटनाबारे इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले पुष्टि गरे । राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत स्वास्थ्य स्वयंसेविकाद्वारा बालिकालाई औषधि खुवाइएको थियो ।
घाँटीमा अड्किएको औषधिका कारण बालिकाको सास रोकिन पुगेको र केही मिनेटमै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गराएपछि परिवारलाई बुझाइएको छ । प्रहरी निरीक्षक बमका अनुसार घटनाको थप विवरण र कारण स्पष्ट हुन पोष्टमार्टम रिपोर्टको प्रतिक्षा गरिएको छ ।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।




प्रतिक्रिया