ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर

ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– इंङ्ग्लिस स्ट्राइकर ह्यारी केनले सन् २०२६ को प्रतिष्ठित फुटबल अवार्ड बालोन डी’ओर जितेका छन्।

जर्मन क्लब बायर्न म्युनिख र इंग्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका केनले एक सिजनमा क्लब र राष्ट्रिय टोलीबाट गरी ७३ गोल गरेपछि यो अवार्ड जितेका हुन्।

गोल डटकमका अनुसार सोमबार पहिलोपटक लन्डनमा आयोजित बालोन डी’ओर समारोहमा केनलाई पुरुषतर्फको सर्वश्रेष्ठ खेलाडी घोषित गरिएको हो। उनले सन् २०२५–२६ को सिजनमा गरेको प्रदर्शनका आधारमा यो सम्मान प्राप्त गरेका हुन्।

३३ वर्षीय केनले व्यक्तिगत प्रदर्शनका आधारमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै बालोन डी’ओर जित्न सफल भए।

पछिल्ला वर्षहरूमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चस्व रहेको यो अवार्डमा अहिले विभिन्न खेलाडीबीच कडा प्रतिस्पर्धा देखिँदै आएको छ।

एक सिजनमा ७३ गोल

केनले सन् २०२५–२६ को सिजनमा क्लब र इंग्ल्यान्डका लागि खेलेका ६५ खेलमा ७३ गोल गरेका थिए। उनको गोलसंख्या २१औँ शताब्दीमा एक सिजनमा गरिएको सर्वाधिक गोलमध्ये दोस्रो स्थानमा रहेको छ। उक्त अवधिमा लियोनल मेस्सीले सन् २०११–१२ को सिजनमा मात्रै केनभन्दा बढी गोल गरेका थिए।

केनले बायर्न म्युनिखलाई जर्मन लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेले। उनले लिगमा ३६ गोल गर्दै टोलीलाई च्याम्पियन बनाउन योगदान दिए।

त्यस्तै, घरेलु कप प्रतियोगितामा उनले ६ खेलमा १० गोल गरे। फाइनलमा ह्याट्रिक गर्दै बायर्नलाई उपाधि दिलाउन उनको भूमिका निर्णायक रह्यो।

युरोपेली च्याम्पियन्स लिगमा पनि केनको प्रदर्शन प्रभावशाली रह्यो। उनले १३ खेलमा १४ गोल गरे। नकआउट चरणका पाँचवटै खेलमा गोल गरेका केनको टोली सेमिफाइनलसम्म पुगेको थियो।

इंग्ल्यान्डलाई विश्वकपमा तेस्रो स्थान

केनले राष्ट्रिय टोलीबाट पनि उत्कृष्ट प्रदर्शन गरे। सन् २०२६ को विश्वकपमा इङ्ग्ल्यान्डको कप्तानी गरेका उनले टोलीलाई विदेशमा आयोजित विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट तेस्रो स्थानसम्म पुर्‍याउन योगदान दिए।

विश्वकपमा उनले ६ गोल गरे। नकआउट चरणका दुई खेलमा निर्णायक गोल गरेका केनको गोलसंख्या प्रतियोगितामा उनीभन्दा बढी गोल गर्ने चार खेलाडीको मात्र थियो।

यद्यपि, उनले क्लब र राष्ट्रिय टोलीका लागि गरेको उत्कृष्ट प्रदर्शनका बाबजुद च्याम्पियन्स लिग र विश्वकपजस्ता ठूला उपाधि जित्न सकेनन्।

तर व्यक्तिगत गोलसंख्या, निरन्तरता र टोलीलाई दिएको योगदानका आधारमा उनी बालोन डी’ओरका सबैभन्दा बलिया दाबेदार बने।

गोलकर्ता मात्रै होइनन् केन

केनको विशेषता गोल गर्ने क्षमतामा मात्रै सीमित छैन। उनी आक्रमण निर्माणमा पनि उत्तिकै प्रभावकारी छन्। विपक्षीको पेनाल्टी क्षेत्रभित्र गोल गर्ने अवसर खोज्नुका साथै उनी मिडफिल्डतिर झरेर पास उपलब्ध गराउने र सहकर्मीका लागि गोल गर्ने ठाउँ सिर्जना गर्ने गर्छन्।

गत सिजन उनले आठ असिस्ट मात्रै गरे पनि बायर्नका लागि सबै प्रतियोगिता मिलाएर २६ वटा उत्कृष्ट गोल अवसर सिर्जना गरेका थिए। उनको यही बहुआयामिक खेलले क्लब र इंग्ल्यान्ड दुवै टोलीका अन्य आक्रमणकारीलाई पनि फाइदा पुगेको विश्लेषण छ।

बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानी र इंग्ल्यान्डका प्रशिक्षक थोमस टुकेलको खेल रणनीतिमा केनको भूमिका महत्त्वपूर्ण रह्यो। उनी विपक्षीको रक्षापंक्तिलाई व्यस्त राख्ने, पास वितरण गर्ने र आफैँ गोल गर्ने क्षमताका कारण आफ्नो पुस्ताका उत्कृष्ट स्ट्राइकरमध्ये एक मानिन्छन्।

बालोन डी’ओरको प्रतिस्पर्धा किन कठिन थियो?

यस वर्षको बालोन डी’ओर दौडमा केनसँगै लामिन यमाल, किलियन एम्बाप्पे, लियोनल मेस्सी, ख्विचा क्वारात्स्खेलिया र रोड्रीजस्ता खेलाडी पनि चर्चामा थिए।

रियल म्याड्रिडका एम्बाप्पेले क्लब र फ्रान्सका लागि करिब ६० गोल गरेका थिए। विश्वकपमा गोल्डेन बुटसमेत जितेका उनले भने टोलीलाई ठूला उपाधि दिलाउन सकेनन्।

बार्सिलोनाका यमालको व्यक्तिगत प्रदर्शन र क्लबको समर्थनले उनलाई पनि बलियो दाबेदार बनाएको थियो। अर्जेन्टिनाका मेस्सीले विश्वकपमा गरेको प्रदर्शनका कारण नवौँपटक बालोन डी’ओर जित्न सक्ने चर्चा पनि चलेको थियो।

त्यस्तै, पेरिस सेन्ट जर्मेनका क्वारात्स्खेलियाले च्याम्पियन्स लिगको नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए। विश्वकपमा उत्कृष्ट खेलाडी घोषित रोड्री पनि प्रतिस्पर्धामा थिए।

यस्ता बलिया प्रतिस्पर्धीबीच केनको पक्षमा उनको गोलसंख्या, निरन्तर प्रदर्शन र क्लब तथा राष्ट्रिय टोलीका लागि गरेको योगदान सबैभन्दा बलियो आधार बने।

प्रचारभन्दा प्रदर्शनमा विश्वास

बालोन डी’ओरको प्रतिस्पर्धामा खेलाडीको मैदानबाहिरको प्रचार र क्लबको समर्थनले पनि चर्चा पाउने गरेको छ। यस वर्ष बार्सिलोना र रियल म्याड्रिडले क्रमशः यमाल र एम्बाप्पेको पक्षमा बलियो सार्वजनिक समर्थन देखाएका थिए। मेस्सीका सहकर्मीले पनि उनको पक्षमा आवाज उठाएका थिए।

तर केनले भने आफूलाई अवार्डको दाबेदारका रूपमा प्रस्तुत गर्न धेरै सार्वजनिक अभियान चलाएनन्।

सेप्टेम्बरमा स्पेनी सञ्चारमाध्यम मार्कासँग कुरा गर्दै उनले गत सिजन आफ्नो व्यक्तिगत र टोलीगत जीवनकै उत्कृष्ट सिजन रहेको बताएका थिए। एक सिजनमा ७३ गोल गर्नु आफैँमा ऐतिहासिक उपलब्धि भएको उनको भनाइ थियो।