काठमाण्डु – थामसेर्कु ट्रेकिङले दरबारमार्गस्थित नेपाल ट्रस्टको ३० आना जग्गा निष्पक्ष प्रतिस्पर्धामार्फत ३० वर्षका लागि १ अर्ब ५९ करोड ४० लाख ५२ हजार रुपैयाँमा भाडामा लिइएको स्पष्ट पारेको छ ।
कम्पनीले प्रतिस्पर्धा रकम दोस्रो प्रतिस्पर्धीको प्रस्तावभन्दा ९७ करोड बढी रहेको जनाएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि हामीले बदनियत राखेका हुने हौं भने दोस्रो प्रतिस्पर्धी कम्पनीको ६२ करोड २४ लाख ५८ हजार रुपैयाँकै वरिपरि प्रस्ताव गर्न सकिन्थ्यो । तर निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न हामीले १ अर्ब ५९ करोडभन्दा बढी रकम प्रस्ताव गरेका हौं ।’ तेस्रो प्रतिस्पर्धी कम्पनीले २६ करोड २६ लाख रुपैयाँको प्रस्ताव गरेको थियो ।
विज्ञप्तिअनुसार विक्रम संवत् २०७३ असार १४ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार कम्पनीले जग्गाको हकमा १ अर्ब ४० करोड र भवन निर्माणका लागि १९ करोड २९ लाख रुपैयाँ प्रस्ताव गरेको थियो । तोकिएका सम्पूर्ण शर्त पूरा गरी कम्पनीले ३० वर्षका लागि लिजमा लिएको हो ।
थामसेर्कुले भाडा रकम ६ अर्ब रुपैयाँ भएको भनेर फैलाइएको समाचारप्रति आपत्ति जनाउँदै त्यसमा कुनै सत्यता नभएको जनाएको छ । कम्पनीका अनुसार महालेखापरीक्षकको कार्यालयले औंल्याएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी २०७५ माघ २८ गते निर्णय गरिसकेको हो । मुद्दामा उच्च अदालत पाटनमा समेत फैसला भइसकेको र हालसम्म पुनरावेदन नपरेको पनि स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘फैसला भइसकेको विषयमा बारम्बार भ्रामक समाचार सम्प्रेषण गर्नु सम्मानित अदालतको अपहेलना हो । दरबारमार्गमा ३० आना जग्गा आजको मितिमा ६ अर्बमा खरिद गर्न सकिने अवस्था छैन । सो हिसाबले हेर्दा भाडा प्रतिवर्गफिट प्रतिमहिना १ हजार ५०० रुपैयाँभन्दा बढी पर्छ, जुन हालको बजार मूल्यभन्दा धेरै हो ।’
कम्पनीले कोभिड–१९ महामारीको कठिन समयमा पनि सम्झौताअनुसार तोकिएको अवधिभित्र भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको र लिजबापत हालसम्म २१ करोड रुपैयाँभन्दा बढी नेपाल ट्रष्टलाई भुक्तानी गरिसकेको जानकारी दिएको छ ।
थामसेर्कुले भवन निर्माण लागत सुरुमा १९ करोड २९ लाख भनिए पनि वास्तविक लागत ४० करोड रुपैयाँभन्दा बढी पुगेको जनाएको छ । कम्पनीले अनधिकृत रूपमा कुनै सरकारी जग्गा प्रयोग नगरेको स्पष्ट गर्दै कित्ता नम्बर ४६०६ मा मात्र भवन निर्माण गरेको र कित्ता नम्बर ४६०५ साविक बाटोको रूपमा यथावत् रहेको जनाएको छ ।




प्रतिक्रिया