नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ : नेता गिरी

नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ : नेता गिरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाभारतको एउटा प्रसङ्ग स्मरण गर्दै देशको गम्भीर अवस्थालाई चित्रण गरेका छन् ।

‘महाभारत युद्धको १४औं दिन भगवान् कृष्णले आफ्नो दैवी शक्ति प्रयोग गरेर झमक्क साँझ पारिदिनुभयो र अर्जुन असफल भए भन्दै खुसी मनाउन निस्किएका जयद्रथलाई उज्यालो गराएर सजिलै बध गर्न सहयोग गर्नुभयो । यसबाट हामीले बुझ्नुपर्छ कि भदौ २४ गतेको विध्वंश कांग्रेस, एमालेलाई सत्तामा फर्काउन होइन, तिनको विकल्प खोज्न गराइएको थियो । त्यसैले समयमै हामीले यो बुझेर कदम चाल्नुपर्छ ।’

उनले पार्टीलाई ‘बिजनेश एज युजुएल’को शैली छाडेर आमूल सुधार गर्दै नयाँ नेतृत्व, नीति र कार्यक्रमसहित जनताको बीचमा जान ढिलो गर्न नहुनेमा जोड पनि दिए ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गिरीले जेनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै  घटनाको छानबिनको माग पनि गरे । उनले भने, ‘गत भदौ २४ गते आन्दोलनको आवरणमा कांग्रेसका कार्यालय, नेताका घर र धरोहरहरूमा छानी–छानी गरिएको तोडफोड र आगजनीको घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्छ ।’

देशको अस्तित्वमाथि नै खतरा रहेको भन्दै उनले मुलुक अत्यन्तै संवेदनशील अवस्थामा रहेको पनि बताए । गिरीले भने, ‘माझीहरूले सल्लाह गर्दागर्दै ७ गाउँ डुबे भन्ने नेपाली उखान स्मरण गराउन चाहन्छु । त्यसैलै अहिले पार्टी अनिर्णयको बन्दी हुनु हुँदैन ।’

बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीको उदाहरण दिँदै कांग्रेस पनि समय सुहाउँदो नयाँ नेतृत्वका साथ अगाडि बढ्नुपर्ने बताए ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसलाई सच्याउन र जेनजी आन्दोलनका माग सम्बोधन गर्न कांग्रेस संसद् पुन:स्थापनाको पक्षमा जाने कि नजाने एउटा औपचारिक धारणा बनाउन पनि आग्रह पनि गरेका छन् ।

कांग्रेस बैठकमा पेचिलो बन्दै गएको १५औं महाधिवेशनको कार्यतालिका सन्दर्भमा धारणा राख्दै गिरीले देशभरका महाधिवेशन प्रतिनिधिहरूको भावनाको सम्मान गर्दै मंसिर महिनाभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्न र भ्रातृ संस्थाहरूको अधिवेशन गराउन पनि माग गरेका छन् ।

गत निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै कारबाही गरिएका सबै कांग्रेसजनलाई वर्तमान राजनैतिक परिस्थितिमा आममाफी दिन पनि उनले आग्रह गरे ।

पूर्वमन्त्री समेत रहेका निवर्तमान सांसद  गिरीले भ्रष्टाचारको अन्त्य, पारदर्शिता र नेतृत्वमा जवाफदेहिताको संस्कृति विकास गर्न संरचनागत सुधार अपरिहार्य रहेको औंल्याए । ‘नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ,’ उनले भने, ‘जेनजी पुस्ताले उठाएका मुख्य मागहरू भ्रष्टाचारको अन्त्य, पारदर्शिता र नेतृत्वमा जवाफदेहिताको संस्कृतिको विकास केवल मन्त्रीहरुको राजीनामा वा क्याबिनेट फेरबदलले मात्र पूरा हुन सक्दैनन्, किनकि समस्या केही दर्जन नेताहरूको मात्रै भन्दा पनि संरचनागत हो । सुरक्षाका निकाय, प्रशासकीय कर्मचारी, सञ्चारका अगुवा र नागरिक समाज जस्ता महत्त्वपूर्ण स्तम्भहरूले आफ्नो जिम्मेवारी समयमा पूरा गर्न असफल हुँदा राज्य कमजोर देखिएको छ र जनविश्वासमा गम्भीर रूपमा ह्रास आएको छ । त्यसैले दोषारोपणलाई व्यक्तिमा मात्र सीमित नगरी दल र संस्थागत संरचनामा खोज्नु जरुरी छ र दीर्घकालीन समाधानका लागि पारदर्शिता, जवाफदेहिता र प्रभावकारी संयन्त्रलाई संस्थागत रूप दिनु अपरिहार्य भइसकेको छ ।’

‘इतिहासले देखाएको छ वास्तविक र दीगो परिवर्तन तब मात्र सम्भव हुन्छ जब आधारभूत तहबाट सबल नेतृत्व जन्मन्छ । अहिलेको जस्तो माथिबाट थोपर्ने प्रक्रिया समाप्त गरी कुनै पनि बेला नेतृत्व तहमा रहने व्यक्ति तल्लो तहप्रति उत्तरदायी हुने प्रणाली बनाउनुपर्छ । पार्टीको पहुँच जनसमर्थन र निष्ठा अधिकांशत: गाउँ/वडा/नगर स्तरका कार्यकर्तामा हुन्छ । तसर्थ पार्टी सुधारको  प्रयास हामीले गाउँ तथा नगर तहबाटै सुरु गर्नुपर्छ,’ उनले भने ।

नेता गिरीले कांग्रेसले पार्टीभित्र आमूल सुधार गरेर, आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल निर्माण गर्ने युवाहरूको चाहना पूरा गर्न सक्ने नीति र कार्यक्रम ल्याएर जनताको बीचमा जान अब ढिला गर्न नहुने पनि दोहोर्‍याए ।