काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा उत्पन्न तनावपूर्ण अवस्था र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
स्थिति थप जटिल नबनोस् भनेर सबै पक्षलाई संयमित रहन उनले आग्रह गरेका हुन् ।
संयोजक प्रचण्डले लोकतन्त्रमा राजनीतिक मतभिन्नता स्वाभाविक भए पनि त्यसलाई हिंसामा बदल्नु कुनै पनि रूपमा स्वीकार्य नहुने बताए । राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै सबै दल र नेताहरूलाई शान्तिपूर्ण रूपमा हिँडडुल गर्न, सभा–समारोह आयोजना गर्न सुरक्षित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनका अनुसार घोषित निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन अहिले देखिएका घटनाले नकारात्मक असर नपरोस् भन्नेमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेछ । हिंसा वा उत्तेजनाले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने भन्दै यस्तो गतिविधि रोक्न राजनीतिक सचेतना आवश्यक रहेको उनले बताए ।
उनले सिमराको अवस्था सामान्य बनाउन स्थानीय पार्टी समितिहरूलाई सक्रिय भएर सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिए । उनले स्थानीय तहमा संवाद, समन्वय र संयमित व्यवहार अपनाएर तनाव नियन्त्रणमा योगदान पुर्याउन आग्रह गरेका छन् ।




प्रतिक्रिया