पहिरो नियन्त्रणका लागि बजेट व्यवस्थापन हुन्छ : मुख्यमन्त्री शाह

पहिरो नियन्त्रणका लागि बजेट व्यवस्थापन हुन्छ : मुख्यमन्त्री शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको बडीमालिका नगरपालिका–७ स्थित जिल्ली पहिरोको स्थलगत अवलोकन गर्दै पहिरो नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहने आश्वासन दिएका छन् ।

भ्रमणका क्रममा बाजुरा पुगेका मन्त्री शाहले शनिबार पहिरोको स्थलगत अनुगमन गर्दै नियन्त्रण गर्ने बताएका हुन् ।

पहिरोनजिकै उच्च जोखिममा रहेको लक्ष्मी माध्यमिक विद्यालयका लागि बजेट व्यवस्थापन गरिने उनले बताए । पहिरोबाट प्रभावित स्थानीयलाई राहत र सुरक्षित व्यवस्थापनको आश्वासन समेत उनले दिए । जिल्लीको पहिरोमा पुगेर मुख्यमन्त्री शाहले भने, ‘अर्को वर्ष तपाईंहरू दु:ख पाउनुहुन्न, पहिरो नियन्त्रण र विद्यालयमा बजेटको व्यवस्थापन हुन्छ ।’

उनले आगामी वर्षदेखि पहिरो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरिने र प्रभावित विद्यालयको पुनर्निर्माण तथा व्यवस्थापनमा प्रदेश सरकार जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका  हुन् ।

पहिरोले मार्तडी–कोल्टी सडक तथा नजिकै रहेको विद्यालयलाई जोखिममा रहेको हुँदा विद्यालयको पठनपाठन प्रभावित भएकाले तत्काल राहत तथा दीर्घकालीन समाधान गर्न प्रदेश सरकार गम्भीर रहेको समेत बताए ।

मुख्यमन्त्री शाहलाई बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले पहिरो नियन्त्रणका स्थायी संरचना निर्माण र विद्यालय व्यवस्थापनका विषयमा सरकारबाट छिटो कदम चाल्न आग्रह गरेका हुन् ।

मुख्यमन्त्री शाहले आफू र प्रदेश सरकारको तर्फबाट समस्या समाधान गर्न कुनै कदम पछि नहट्ने कुरामा जोड दिए । बाजुराको लाइफ लाइनको रूपमा रहेको मार्तडी–कोल्टी सडकखण्ड बर्सेनि अवरुद्ध हुने गरेको छ ।

मार्तडी–कोल्टी सडक खण्डको जिल्ली (दानचौर) मा विगत ५ वर्षदेखि ठूलो पहिरो बग्ने गरेको छ । जसका कारण मार्तडी–कोल्टी सडकखण्ड वर्षातमा पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ । यता लक्ष्मी माध्यमिक विद्यालय पनि पहिरोको उच्च जोखिममा छ । मार्तडीदेखि कोल्टीसम्म करीब ४२ किलोमिटर सडकखण्ड रहेको छ  ।