काठमाण्डु – इन्टरपोलको ९३औं महासभामा सहभागी हुन नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गरेको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन एआईजी अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
एआईजी राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
महासभामा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणका लागि इन्टरपोलका विभिन्न नीति निर्माणका प्रक्रियाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न पदहरूको लागि निर्वाचन र मतदान समेत हुनेछ ।
महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी हुने र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिने कार्यक्रम रहेको छ ।
आईजीपी अधिकारीको नेतृत्वमा सहभागी हुने प्रतिनिधिमण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधिहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम छ ।




प्रतिक्रिया