नेपाल–भारत धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न निकायबीच सहकार्य

नेपाल–भारत धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न निकायबीच सहकार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व हिन्दू महासंघले नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल्स अपरेटर्स र विश्व हिन्दू महासंघबीच सहकार्य गर्ने निर्णय गरेको छ ।

आईतबार पत्रकार सम्मेलनमार्फत विश्व हिन्दू महासंघको हालै भारतको उत्तर प्रदेशको गोरखपुरमा आयोजना भएको हिन्दू सम्मेलन र महासंघको अन्तर्राष्ट्रिय समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै धार्मिक तीर्थस्थलको प्रचारप्रसार र धार्मिक पर्यटक तीर्थालुहरूको प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल्स अपरेटर्स, विश्व हिन्दू महासंघबीच सहकार्य गर्ने निर्णय भएको संघले जानकारी गराएको हो ।

हिन्दू सम्मेलन र महासंघको अन्तर्राष्ट्रिय समितिको बैठकका निर्णयहरु यस्ता छन् :

१. नेपालको हिन्दू अधिराज्यको पहिचानलाई पुनः कायम गर्नका लागि विश्व हिन्दु महासंघ नेपालले गरेको प्रस्तावमा भारत च्याप्टरले समर्थन जनाएको छ । नेपाल राष्ट्रिय समितिका निमित्त सभापति अरुण कुमार पाण्डेले प्रस्ताव पढेर पेस गरिएको थियो । भारत च्याप्टरका महामन्त्री योगी बचन सिंह जीले उक्त प्रस्ताव माथी समर्थन जनाउँदै अन्य मुलुकहरुलाई पनि नेपाललाई हिन्दु अधिराज्य बनाउने विषयमा लिखितरुपमा समर्थन जनाउन अनुरोध गरे । नेपाल, थाइल्यान्ड, अस्ट्रेलिया लगायतका देशहरुले राष्ट्रियस्तरका साथ साथै एजेन्डामा समर्थन गर्दै संसारभरका सबै हिन्दु अधिराज्यको पहिचानलाई कायम राख्न संसार भरिका वैदिक सनातनीहरु एकजुट हुने र अन्तर्राष्ट्रिय स्तरमा जनमत, मन, धन एवम् तन, वचन र कर्मले सहयोग गर्ने निर्णय भयो ।

२. नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्ने विषयमा नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल्स अपरेटर्स विश्व हिन्दु महासंघ बिच सहकार्य गर्ने निर्णय भयो । धार्मिक तिर्थस्थलको प्रचारप्रसार र धार्मिक पर्यटक तिर्थालुहरुको प्रवर्धन एवम् सम्बर्धन गर्न सके मात्र सनातन संस्कृतीको संरक्षण हुने विषयमा सहभागी देशहरुको एकमत रह्यो र सहजीकरण गर्नका लागि महासंघका उत्तर प्रदेशका अध्यक्ष सिद्धार्थ खड्काले समन्वय गर्नु हुनेछ ।

३. हिन्दु संघ संस्थाहरुलाई सख्त र सक्षम बनाउनका लागि एक सहयोग हिन्दु बास्केट फण्ड खडा गर्ने निर्णय भयो । बास्केट फण्ड खडा गर्न विश्व हिन्दु भारत च्याप्टरको अध्यक्षतामा भारतको राजधानी दिल्लीमा निकट भविष्यमा नै हिन्दु इकोनोमिक समिट को आयोजना गर्ने निर्णय गरियो ।

बैठकमा नेपाल, भारत, थाइल्यान्ड, बेलायत एवं अस्ट्रेलिया लगायतका देशहरूको उपस्थिति थियो भने नेपाल पर्यटन बोर्ड, नाटोको सहभागिता रह्यो । विश्व हिन्दू महासंघ भारत उत्तर प्रदेशको आयोजनामा सम्पन्न बैठक एवं हिन्दू सम्मेलनका प्रमुख अतिथि गोरक्षपिठाधिश्वर एवं उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको मुख्य आतिथ्यतामा सम्पन्न भएको थियो ।

बैठकले भारत एवं नेपालका विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक स्थलहरूको एकअर्कामा समन्वय, सहकार्य एवं जानकारी आदानप्रदान गर्ने र गराउने निर्णय गरेको छ । विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय सम्मेलन प्रत्येक वर्ष आयोजना गर्ने निर्णय भएको छ ।

सम्मेलनको आयोजनाका लागि महासंघको अन्तर्राष्ट्रिय अध्यक्ष डा. भानु प्रताप शुक्लको संयोजकत्वमा गुरुत्वपूर्ण एवं विशेष कार्यक्रमका साथ गर्ने निर्णय भएको छ ।

नेपाल–भारतको बीचमा सदियौंदेखि रहँदै आएको आर्थिक, सांस्कृतिक, धार्मिक, सामाजिक सम्बन्धलाई अझै सुमधुर र सशक्त बनाउनका लागि दुवै देशका सरकारले पहल गर्नका लागि पनि अनुरोध गर्ने निर्णय भएको छ । विश्व हिन्दू महासंघलाई भारतको उत्तर प्रदेशको आयोजनामा सम्पन्न बैठक एवं हिन्दू सम्मेलन भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्ने निर्णय गरिएको छ ।