काठमाण्डु – जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता पवन भट्टराईले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनापश्चात जिल्ला प्रहरी परिसर काठमाण्डुमा जम्मा १०४ वटा जाहेरी प्राप्त भएको जानकारी दिएका छन् ।
सोमबार पत्रकार भेटघाट कार्यक्रममा उनले हालसम्म सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतका व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत व्यापारिक प्रतिष्ठानका १६ गरेर जम्मा १०४ वटा जाहेरी हालको मितिसम्म जिल्ला प्रहरी परिसर काठमाण्डुमा दर्ता भएको बताएका हुन् ।
उनले भने, ‘भदौ २३ र २४ गतेको घटनापश्चात जिल्ला प्रहरी परिसर काठमाण्डुमा हालसम्म जम्मा १०४ वटा जाहेरी दरखास्तहरू प्राप्त हुन आएका छन् । यसमा सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत र व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत व्यापारिक प्रतिष्ठानका १६ गरेर जम्मा १०४ वटा जाहेरी दरखास्तहरू अहिलेको मितिसम्म जिल्ला प्रहरी परिसर काठमाण्डुमा दर्ता भएको अवस्था छ ।’
जाहेरी दरखास्तहरूमध्ये सबैभन्दा बढी ५७ प्रतिशत सरकारी कार्यालयसँग सम्बन्धित, सबैभन्दा कम संस्थागत र व्यापारिक प्रतिष्ठानका २३ प्रतिशत र व्यक्तिगत रूपमा प्राप्त हुन आएका जाहेरी दरखास्तहरू ४३ प्रतिशत रहेको पनि उनको भनाइ छ ।
उनले उक्त अवधिमा मृत्यु भएका मानिसहरूसँग सम्बन्धित ४२ वटा जाहेरी दरखास्तहरू दर्ता गरेर अनुसन्धान गरिरहेको भन्दै यसमा ३ जना प्रहरी कर्मचारीको मृत्यु भएको घटना पनि समावेश गरिएको बताए ।
हालसम्म विभिन्न घाइतेहरूसँग सम्बन्धित २२ वटा घटना विवरणहरू पनि सम्पन्न गरेको उनको भनाइ छ । भदौ २४ गते भएको विध्वंशमा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो । आगजनीपछि सर्वोच्चमा २० हजार बढी मिसिल जलेका थिए ।




प्रतिक्रिया