काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जीत दर्ता गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
जीतपछि सुदूरपश्चिम र विराटनगर किंग्स दुवैको ६–६ अंक भएका छन् । रनरेटका आधारमा सुदूरपश्चिम अग्रस्थानमा पुगेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १४० रनको लक्ष्य कर्णालीका लागि दिएको थियो । कर्णाली भने सुदूरपश्चिमको कसिलो बलिङअघि १९.२ ओभरमै ९४ रनमा समेटियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङतर्फ ४ विकेट लिए । हर्मित सिंह र अविनास बोहराले २–२ विकेट झारे भने स्कट कगलिन र हेमन्त धामीले १–१ विकेट जोडे । कर्णालीका लागि पवन सर्राफले २७ रन बनाए । पार्क वाटले १७, सोमपाल कामीले १४, गुलशन झाले १३ र अर्जुन घर्तीले १३ रनको योगदान दिए ।
ब्याटिङतर्फ सुदूरपश्चिमका लागि ऐरीले २८ बलमा ३९ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे । आरिफ सेखले २७, हर्मित सिंहले १९, क्रिस लेनले १८, विनोद भण्डारीले ११ र स्कट कगलिनले १० रन जोडेका छन् ।
कर्णालीका बलर सोमपाल कामीले ३ विकेट लिए । नन्दन यादवले २ विकेट झारे भने मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट हात पारेका छन् ।




प्रतिक्रिया