काठमाण्डु – महिनौंदेखि महाधिवेशन विवादमा रुमल्लिएको नेपाली कांग्रेसमा आगामी पुसमा महाधिवेशन गर्ने गरी सहमति जुट्न थालेको छ ।
कांग्रेस शीर्ष नेतृत्वबीच आईतबार भएको छलफलमा कांग्रेसको १५औं महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति भएको छ ।
महाधिवेशनको मितिबारे भोलि सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा औपचारिक प्रस्ताव पेश गरेर निर्णय हुनेछ । महाधिवेशन विवाद टुंग्याउन सभापति शेरबहादुर देउवासँग समन्वय गरिएको थियो ।
आईतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव गरेका छन् ।
सोमबारको केन्द्रीय समिति बैठकमा कार्यतालिका सम्बन्धी प्रस्ताव कार्यबाहक सभापति खड्काले पेश गर्नेछन् । यसअघि महामन्त्री र सहमहामन्त्रीका अलग–अलग प्रस्ताव पेश भएकाले सहमतिको प्रस्ताव कार्यबाहक सभापति खड्काले नै पेश गर्न लागेका बताइएको छ ।
शीर्ष नेतृत्वबीच सहमति जुटेसँगै अब विवाद अन्त्य हुँदै कांग्रेस महाधिवेशनउन्मुख हुने भएको छ ।




प्रतिक्रिया