काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औं महाधिवेशनका लागि आवश्यक कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ ।
बैठकपछि पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिँदै महाधिवेशन आगामी २०८२ पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको बताए ।
उनका अनुसार बैठकले पार्टी संरचना सुदृढिकरण तथा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरेको थियो । महतले भने, ‘बैठकले लामो छलफलपछि १५औं महाधिवेशनका सन्दर्भमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । कांग्रेसको १५औं महाधिवेशन २०८२ पुस २६, २७ र २८ गते हुने गरी प्रस्तावित कार्यतालिका केन्द्रीय समितिमा पेश गरिएको थियो र त्यो सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ ।’
बैठकले मंसिर २० गतेभित्रै पुराना तथा नयाँ क्रियाशील सदस्य वितरणको काम केन्द्रीय कार्यालयमार्फत सम्पन्न गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य पूरा गर्ने निर्णय पनि गरिएको छ ।
कांग्रेसले महाधिवेशन तयारीलाई संगठन सुदृढीकरणसँग जोडेर आगामी दिनमा आवश्यक प्रक्रिया द्रूतगतिमा अघि बढाउने जनाएको छ ।
यस्तो छ महाधिवेशनको कार्यतालिका
नयाँ क्रियाशील सदस्य वितरण – मंसिर २० सम्म
नयाँ क्रियाशील सदस्यको फाराम पठाउने – मंसिर २४ सम्म
सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको काम सक्ने – पुस ८ सम्म
नयाँ र नवीकरण गरिएका सदस्यता अन्तिम सूची बुझाउने – पुस १४
विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन – पुस १५
गाउँ नगर र वडा अधिवेशन – पुस १६
गाउँ नगरपालिका अधिवेशन – पुस १७
प्रदेशसभा क्षेत्रीय अधिवेशन – पुस १९
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन – पुस २१
एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन – पुस २२
प्रदेश अधिवेशन – २३ र २४ गते ।
महाधिवेशन – पुस २६, २७ र २८ गते ।




प्रतिक्रिया