काठमाण्डु – सरकारले भदौ २३ गतेलाई प्रत्येक वर्ष ‘जेनजी सहिद दिवस’ मनाउने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारका निर्णयहरू सार्वजनिक गरेका छन् ।
प्रवक्ता खरेलका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएको व्यक्तिलाई सहिद घोषणा गरिएका परिवारलाई फोटो सहितको परिचयपत्र उपलब्ध गराइनेछ ।
सरकारले माघ १ गतेदेखि ५ लाख रुपैयाँ वा त्यसभन्दा बढी मूल्यका किनबेच तथा अन्य सबै कारोबार बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । यसले ठूलो परिमाणको नगद कारोबारलाई रोक्ने र वित्तीय पारदर्शितालाई बढाउने उद्देश्य राखेको सरकारले जनाएको छ ।
बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने, कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने तथा श्रीलंका सरकारलाई २ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा. ज्ञानबहादुर थापालाई नियुक्त गर्ने तथा वैकुण्ठ अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय बैठकले गरेको प्रवक्ता खरेलले जानकारी दिए ।




प्रतिक्रिया