धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूलाई अरूले निर्माण गरिदिएका गलत र झूटा भाष्य बोकेर त्यसैको पछि लागेर नागरिक सरकारप्रति धारणा निर्माण नगर्न आग्रह गरेका छन् ।
युवा शक्तिको बलमा गठन भएको नागरिक सरकार कुशासनलाई अन्त्य गर्नकै लागि भनेर सुशासनको जगमा टेकेर अहिलेको वर्तमान समयमा युवा वर्गले राखेको अपेक्षा र देशमा देखिएका अनेकन समस्याहरूको हल गर्नतर्फ प्रतिबद्ध रहेको मन्त्री अर्यालले बताए ।
धनगढीमा उपलब्ध जेनजीहरूसँग मंगलबार छलफलका क्रममा उनले झूटा भाष्यमा नलाग्न आग्रह गरे । अरू विरोधी शक्ति र समूहले निर्माण गरिदिएको गलत र झूटा भाष्यको पछि लागेर युवाहरूले नागरिक सरकार पनि उस्तै रहेछ भन्ने गलत बुझाइ राख्न नहुने तर्क गर्दै मन्त्री अर्यालले भने, ‘भदौ २३ गतेको घटनाको सन्दर्भमा पुलिस प्रशासन, कानून, अदालत र सरकारले नै गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले आ–आफ्नो तरिकाले काम गरिरहेकाले अहिले नै सबैथोक खतम भयो, केही भएन र जेनजीले न्याय पाउन सकेन भनेर निराश हुनुपर्ने छैन, हामी न्याय, सुशासन, र भ्रष्टाचार अन्त्यका लागि काम गर्दैछौं ।’
सरकार जेनजी आन्दोलनमा मृत्यु भई शहादत प्राप्त गरेका युवाहरू, उनीहरूका आश्रित परिवार तथा सम्पूर्ण घाइतेहरूको लागि सरकारले गर्नुपर्ने सम्पूर्ण आवश्यक निर्णयहरू गर्दै गइरहेको र उनीहरूकै सम्मान र बलिदानको सम्झना गर्दै जेनजी सहिद दिवस मनाउने निर्णय समेत सरकारले गरिसकेको कुरा मन्त्री अर्यालले बताए । सहिद योद्धा उद्यान र उनीहरूको सालिक निर्माणका पनि सरकारले काम अघि बढाइसकेको पनि उनले जानकारी दिए ।
भेटका क्रममा मन्त्री अर्यालले जेनजी युवाहरूलाई गलत नगरेका युवाहरू समाजमा लुकेर बस्नु नपर्ने बरु कानूनलाई सघाएर गलत तथ्यहरू छन् र कोही निर्दोष फसेका छन् भने प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।
युवाहरूले राखेका धारणा र मागहरू सुनिसकेपछि मन्त्री अर्यालले सरकारले कोही युवा शक्तिलाई पक्षपात नगर्ने र विना आधार र प्रमाण हेरेर मुद्दा चल्ने/नचल्ने सबै निक्यौल गरेर मात्रै प्रहरी प्रशासनले आफ्नो कदम चल्ने कुरा स्पष्ट पारेका छन् ।




प्रतिक्रिया