काठमाण्डु – सरकारले विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूको बैठक बोलाएको छ ।
प्रधामनन्त्री तथा तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा बैठक बोलाइएको जनाएको छ ।
कार्यालयको सुशासन तथा राष्ट्रिय समन्वय महाशाखाले सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयका सचिव र सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।
बैठकमा मुख्यतः सरकारका निर्णय कार्यान्वयनको अवस्था, चालु आर्थिक वर्षको कार्यप्रगति, बेरुजु फर्छ्योट तथा चाडपर्व लक्षित शान्ति सुरक्षा र बजार अनुगमनका विषयमा छलफल हुने छ ।
बैठकका ६ एजेन्डामध्ये ५ असोजमा सम्पन्न सचिव बैठकका निर्णय कार्यान्वयनको प्रगति समीक्षा पहिलो प्राथमिकतामा रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८३–८४ को वार्षिक कार्ययोजना कार्यान्वयनको पहिलो त्रैमासिक अवधिको प्रगति समीक्षा, बेरुजु फर्छ्योट तथा चाडपर्व लक्षित शान्ति सुरक्षा र बजार अनुगमनका विषयमा छलफल हुनेछ ।
यसैगरी, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनसम्बन्धी निर्देशिका, २०८३ कार्यान्वयन गर्ने विषय पनि बैठकको एजेन्डामा समेटिएको छ ।


प्रतिक्रिया