काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सोमबार दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्दैछ सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको हो ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ ।
बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ दल रास्वपाको भूमिका, पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालन, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा निष्पक्ष अनुसन्धानको विषयमा छलफल हुनेछ ।
सरकारले संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसले यस्ता विषयमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका थिए । यही विषयमा कांग्रेसले आज प्रतिपक्षी दलहरूसँग छलफल गर्न लागेको हो ।
नेता आङ्देम्बेले आइतबार रास्वपाको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । राम्रा कामको जस पार्टीले लिने तर नराम्रा कामको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सत्तारूढ दल गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको उनले टिप्पणी गरेका थिए ।


प्रतिक्रिया