काठमाण्डु – मधेश प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद यादव मुख्यमन्त्री बन्ने भएका छन् ।
शुक्रबार यादवले ६ राजनीतिक दलको समर्थनसहित नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेपछि ६ दलले संयुक्त रूपमा दाबी पेश गरेका छन् ।
दाबी पेश गर्ने दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल रहेका छन् ।
नयाँ सरकार गठनका लागि ६ दलले कुल ७७ जना प्रदेशसभा सदस्यको समर्थन र हस्ताक्षरसहित दाबी पेश गरेका छन् । प्रदेश सभामा बहुमतका लागि आवश्यक सांसद संख्याभन्दा बढीको समर्थन जुटेको छ ।
प्रदेश सभामा नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपा नेपालका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद रहेका छन् ।





प्रतिक्रिया