काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले आसन्न निर्वाचनका लागि थप बलियो वातावरण तयार गरेको बताएका छन् ।
सरकार, प्रमुख राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सम्मिलित संयुक्त बैठक निर्वाचनको माहोल बनाउनका लागि अत्यन्त उपलब्धिपूर्ण रहेको उनले बताए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘विगतमा द्विपक्षीय र त्रिपक्षीय छलफल मात्र हुने गरेकोमा निर्वाचनसँग सरोकार राख्ने सबै सरोकारवालाहरू एकै थलोमा भेला भई गहन छलफल भएपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ ।’
बैठकबाट निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरणको सुनिश्चितता भएको उनले बताए । मन्त्री खरेलका अनुसार बैठकमा सरकारका तर्फबाट तयार पारिएको संयुक्त सुरक्षाको कार्ययोजना र रणनीति बारे जानकारी गराइएको थियो । सोही रणनीतिमा केन्द्रित रहेर निर्वाचनको समयमा आउन सक्ने सम्भावित सुरक्षा चुनौती र व्यवस्थापकीय सरोकारहरूका विषयमा छलफल भएको थियो ।
उनले विगतका निर्वाचनहरूमा देखिएका ‘फेक न्यूज’, ‘मिस इन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ जस्ता सञ्चार चुनौतीहरूका बारेमा समेत सबै पक्षबीच खुलेर कुराकानी भएको जानकारी दिए । मन्त्री खरेलले सुरक्षा निकायका प्रमुखहरूले यी चुनौतीहरूको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएको र निर्वाचनको सुरक्षाको सम्पूर्ण वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
केही राजनीतिक दलहरूले सुरक्षा लगायतका वातावरण सुनिश्चित गर्न चासो देखाएकाले सरकार त्यसप्रति सचेत रहेको उनले बताए । पछिल्लो समय सरकारले निर्वाचनको वातावरण निर्माणका लागि संवादलाई निरन्तरता दिएको, जसले गर्दा जनता र राजनीतिक दलहरू दुवैमा उत्साह देखिएको उनले बताए ।
मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको वातावरणका साथै जेनजी शहीद र घाइते परिवारको सरोकारका विषयलाई पनि विशेष प्राथमिकता दिएको बताए ।




प्रतिक्रिया