उत्तरपूर्वी चीनमा सजावटी माछाको व्यापार फस्टाउँदै

उत्तरपूर्वी चीनमा सजावटी माछाको व्यापार फस्टाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनको उत्तरपूर्वी शहर लियाओयाङमा सजावटी (अर्नामेन्टल) माछाको उत्पादन र व्यापार पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ्दै गएको छ ।

स्थानीय किसानहरूले ग्रीनहाउस र हीटिङ प्रणालीको प्रयोग गरी चिसो मौसममा पनि उत्पादनलाई स्थिर राख्न सफल भएका छन् । जसका कारण दक्षिण चीनमा उत्पादन घट्ने समयमा उनीहरूले देशभरको बजारमा आपूर्ति गर्न सकेका छन् ।

लियाओयाङका एक अनुभवी माछा उत्पादक झाङ रेनका अनुसार उनी दैनिक १०–२० हजार वटा सजावटी माछा बेच्दछन् । चिनियाँ नयाँ वर्षजस्ता चाडपर्व वा उपभोग बढ्ने समयमा यो संख्या झन् बढेर ४०–५० हजारसम्म पुग्छ ।

झाङ भन्छन्, ‘साधारण दिनमा दैनिक १०–२० हजार माछा बेचिन्छ । तर नयाँ वर्षजस्ता चरम समयमा बिक्री ५० हजार वटासम्म पुग्छ ।’

स्थानीय किसानहरूले जाडो मौसममा ताल–पोखरी जम्ने समस्या समाधानका लागि अत्याधुनिक ग्रीनहाउस सुविधा र हीटिङ प्रणाली विकास गरेका छन् । यसले वर्षभर स्थिर उत्पादन सम्भव बनाएको छ । दक्षिण चीनमा चिसोमा उत्पादन घट्दा, उत्तरपूर्वी क्षेत्रका किसानहरू त्यसै समय ठूलो मात्रामा आपूर्ति गर्दै राम्रो नाफा कमाइरहेका छन् ।

लियाओयाङ काउन्टीको लुजिया गाउँका गाउँ निर्देशक सी चाङचुनका अनुसार गाउँको करीब एकतिहाइ, अर्थात् २०० घरधुरी अहिले सजावटी माछापालन व्यवसायमा संलग्न छन् ।

उनका अनुसार ‘यो व्यवसायमा संलग्न प्रत्येक परिवारले वार्षिक ३०–६० हजार अमेरिकी डलरसम्म आम्दानी गर्छ ।’ यसले ग्रामीण क्षेत्रमा रोजगारको नयाँ अवसर सिर्जना गरेको छ र किसानलाई स्थिर आय सुनिश्चित गरेको छ ।

हाल लियाओयाङ शहरमा ७० भन्दा बढी किसिमका सजावटी माछा उत्पादन गरिन्छ । वार्षिक उत्पादन मूल्य करीब ५० मिलियन (५ करोड) अमेरिकी डलरसँग नजिक पुगेको छ ।

उत्पादन वृद्धि, प्रविधिमैत्री प्रणाली र देशभर बढ्दो मागका कारण उत्तरपूर्वी चीनको यो क्षेत्र अहिले राष्ट्रिय स्तरमै सजावटी माछा उत्पादनको महत्त्वपूर्ण केन्द्र बनेको छ । (सीसीटीभी)