काठमाण्डु – शुक्रबार पाकिस्तानी सेनाको अन्तर–सेवा पब्लिक रिलेसन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री तथा हाल जेलमा रहेका इमरान खानको आलोचना गर्दै उनलाई ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ बताए ।
आईएसपीआरका महानिर्देशकको भाषाशैलीले विषयको गम्भीरता स्पष्ट देखाउँछ । चौधरीले भने, ‘त्यो व्यक्तिको (इमरान खान) राष्ट्रिय सुरक्षाका लागि खतरा बनेको छ ।’
पाकिस्तानी सेनाका प्रवक्ताले त यहाँसम्म भने कि यस व्यक्तिमा मानसिक रोगका लक्षणहरू पनि देखिन्छन् ।
पूर्व प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भन्ने सैन्य प्रवक्ताको कडा भाषा गम्भीर र अर्थपूर्ण छ । तर पाकिस्तानी राजनीतिक व्यवस्था र इतिहासमा यो कुनै असामान्य घटना भने होइन ।
पाकिस्तानमा ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ वा ‘सुरक्षा जोखिम’ भन्ने शब्दावलीको इतिहास हेर्ने हो अहिलेसम्म यसका चपेटामा को–को परे, यस्ता ‘राजनीतिक हतियार’ले त्यस समयको राजनीति, व्यवस्था र राज्यलाई कति क्षति पुर्याए र जसलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भनियो उनीहरू पछि कसरी ‘देशभक्त’ बनाइए भन्ने कुराको विष्लेषण यहाँ गरिएको छ ।
पाकिस्तान स्थापना भएपछि नै राष्ट्रिय सुरक्षाको प्रश्न उठेको हो । देश स्थापना पछिको पहिलो दशक राजनीतिज्ञ र नागरिक तथा सैन्य कर्मचारीबीचको राजनीतिक संघर्षमै बित्यो । परिणामस्वरूप संवैधानिक, लोकतान्त्रिक र राजनीतिक संस्थाहरू सुदृढ हुन सकेनन् । प्रधानमन्त्रीहरू बारम्बार फेरिए, सरकार ढलिरह्यो र अन्ततः अयुब खानले परिस्थिति र घटनाक्रमलाई भ्रष्ट भन्दै सत्ता हत्याए ।
प्रधानमन्त्रीका अधिकार धेरै अर्थमा सीमित थिए । तत्कालीन प्रधानमन्त्री हुसेन शाहिद सुहरावर्दी, जो पूर्वी र पश्चिमी पाकिस्तान दुवैमा लोकप्रिय थिए, नागरिक–सैन्य कर्मचारीले पश्चिम समर्थक विदेश नीति निरन्तरता दिने र सेनाका मामिलामा हस्तक्षेप नगर्ने शर्तमा मात्रै स्वीकार गरेका थिए ।
अयुब खानले राजनीतिज्ञलाई राजनीति बाहिर राख्न ‘एब्डो’ कानून ल्याए, जसअन्तर्गत ठूला नेताहरूलाई राजनीतिमा सहभागिताबाट अयोग्य ठहर गरियो । यो कानून राजनीतिक प्रतिशोधका भावनाबाट बनाइएको थियो, जसको उद्देश्य राजनीतिज्ञलाई जनताको नजरमा बदनाम गर्नु थियो ।
पहिलो ‘मार्शल ल’पछि सरकारविरोधी नेताहरूलाई विदेशी षड्यन्त्रको हिस्सा ठान्ने संस्कार बस्यो । अयुब खान र फातिमा जिन्नाबीच भएको राष्ट्रपति निर्वाचनमा फातिमा जिन्नालाई ‘देशद्रोही’सम्म भनियो र राष्ट्र तोड्ने षड्यन्त्र गरेको आरोप लगाइयो ।
पाकिस्तानको संविधान निर्माण गर्ने जुल्फिकार अली भुट्टोलाई फाँसी दिइयो र उनकी छोरी बेनजिर भुट्टोलाई पनि देशद्रोहको आरोप लगाइयो ।
भारतीय प्रधानमन्त्री राजीव गान्धीले सन् १९८८ र १९८९ मा पाकिस्तान भ्रमण गरेका थिए। राजीव र बेनजिर दुवै युवा नेता थिए र विगतको दुश्मनी भुलेर नयाँ युग सुरु हुने आशा गरिएको थियो। तर गुप्तचर निकायहरूले बेनजिरमाथि राष्ट्रिय सुरक्षाको मामिलामा भरोसा गर्न नसकिने निष्कर्ष निकाले ।
इतिहासकार तथा सामाजिक अभियन्ता अम्मार अली जान भन्छन्, ‘कहिले सबै बंगालीलाई राष्ट्रिय सुरक्षाको मुद्दा बनाइयो, कहिले जुल्फिकार अली भुट्टोलाई फाँसी दिइयो, कहिले फातिमा जिन्ना र बेनजिरलाई खतरा भनियो ।’
यसरी हेर्दा, नवाज शरीफदेखि अहिले इमरान खानसम्म, पूर्व प्रधानमन्त्रीहरूलाई बारम्बार ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ बनाइने इतिहास दोहोरिएको छ ।
अम्मार अली जान भन्छन्, ‘देशभक्ति, देशद्रोह, राष्ट्रविरोध, भ्रष्टाचार—यी सबै शब्द दुष्प्रचारका लागि प्रयोग गरिन्छ । समस्या शब्द होइन, समस्या ती शब्द प्रयोग गर्ने शक्ति हो ।’




प्रतिक्रिया