एनसेलले एनपीएलका चौकाहरूबापत २ हजार ४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेलले एनपीएलका चौकाहरूबापत २ हजार ४०० बढी शैक्षिक सामग्री वितरण गर्ने


काठमाण्डु – एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका बेलामा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई २ हजार ४२८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।

प्रत्येक चौकामा ४ वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा ४ वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।

गत वर्ष सुरु गरिएको पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै आएको र खेल मैदानमा प्रहार भएका चौकाहरूले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउँदै आएको छ । पहलले एनसेल फाउन्डेसनको शिक्षाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने जनाइएको छ ।

यस वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीले कुल ६०७ वटा चौका प्रहार गरेका थिए, जसका आधारमा २ हजार ४२८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ । पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरे । २६ वटा चौकासहित लुम्बिनी लायन्सका डार्सी सर्ट दोस्रो स्थानमा रहँदै १०४ वटा शैक्षिक सामग्री सुनिश्चित गरे भने सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् ।

शैक्षिक सामग्री वितरण गर्ने पहलको उद्देश्य विद्यार्थीहरूलाई आवश्यक शैक्षिक स्रोतको अभाव सम्बोधन गर्दै सिकाइमा सहयोग पुर्‍याउनु रहेको छ । यसरी प्रदान गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुन्छ ।

‘यस अर्थपूर्ण सामाजिक पहलमा योगदान पुर्‍याउनुहुने सबै खेलाडीहरूलाई हामी हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं । उहाँहरूको प्रदर्शनले मैदानमा आफ्ना टीमलाई मात्र सशक्त बनाएको छैन, हरेक चौकाले विद्यार्थीको पठनपाठनमा पनि सहयोग पुर्‍याएको छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले भनिन् । ‘गत वर्षझै यस वर्ष पनि सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गर्दै यस्ता स्रोतको सबैभन्दा बढी आवश्यक पर्ने सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी यी शैक्षिक सामग्रीहरू वितरण गर्नेछौं ।’

यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो । कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरेको थियो । पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गरेकाले एनसेलबाट २ लाख नगद पुरस्कार प्राप्त गरेका थिए ।

गत वर्ष एनपीएलको पहिलो संस्करणमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २ हजार ६१२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता बमोजिम २ हजार ६१२ सामग्रीसहित फाउन्डेसनले देशभर ९ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो, जसले हजारौं विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीमार्फत सशक्त बनाएको छ ।

यस वर्ष पनि शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ ।