काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने भएका छन् ।
ट्रम्पले मंगलबार बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् ।
ह्वाइट हाउसका अनुसार विस्तारित यात्रा प्रतिबन्ध जनवरी १ देखि लागू हुने राेयटर्सले लेखेको छ।
साथै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा यात्रा रोक लगाइएको छ।
अमेरिकामा प्रवेश मापदण्ड थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत गरिएको यो कदम
हालै सिरियामा इस्लामिक स्टेट (आईएस) का आशङ्कित लडाकुले अमेरिकी तथा सिरियाली सेनाको संयुक्त काफिलामाथि आक्रमण गर्दा दुई अमेरिकी सैनिक र एक नागरिक दोभाषेको मृत्यु भएपछि उठाइएको हो ।
उक्त घटनालाई ट्रम्पले “भयानक आक्रमण” भन्दै दोषीमाथि “अत्यन्त गम्भीर प्रतिशोध” लिने चेतावनी दिएका थिए ।
यसअघि जुन महिनामा ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने र थप सात देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए।
ट्रम्प प्रशासनले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई प्रदान गरिएको ग्रीनकार्ड पुनरवलोकन गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया