चिनियाँ राजदूत सोङले गरे प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट

चिनियाँ राजदूत सोङले गरे प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट


काठमाण्डु – आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका नेपालका लागि चिनियाँ राजदूत छन सोङले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा २ देशबीचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

भेटका क्रममा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएको स्मरण गर्दै नेपालको विकास निर्माणमा चीनले गर्दै आएको सहयोग भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा प्रधानमन्त्री कार्कीले राजदूत सोङलाई सफल कार्यकाल पूरा गरेकोमा बधाई दिँदै उनको सुखद भविष्यका लागि शुभकामना व्यक्त गरिन् । सो अवसरमा प्रधानमन्त्रीले ‘एक चीन नीति’प्रति नेपालको अडिग प्रतिबद्धता दोहोर्‍याइन् ।

‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘नेपाली भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिनेमा हामी स्पष्ट छौं ।’ उनले नेपालको विकास र समृद्धिमा चीनबाट प्राप्त हुँदै आएको साथ र समर्थन आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गरिन् ।

राजदूत सोङले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।